पश्चिम नेपालको स्वास्थ्य सेवामा नयाँ भरोसाः एचसीआरसी
नेपालगन्जस्थित एचसीआरसी अस्पतालले अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणाली आइएसओ ९००१ः२०१५८८ प्रमाणीकरण प्राप्त गरेको छ । पश्चिम नेपालमै गुणस्तरीय र अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्यका साथ सञ्चालनमा रहेको यो अस्पतालले प्राप्त गरेको उपलब्धीले उत्साहित बनाएको जनाएको छ ।
अस्पतालको सेवा प्रवाह, व्यवस्थापन प्रणाली र कार्यप्रणालीको विस्तृत मूल्यांकनपछि प्राप्त यो मान्यताले पश्चिम नेपालका बिरामीलाई अझ सुरक्षित, भरपर्दो र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध गराउने आधार थप बलियो बनेको अस्पतालले जनाएको छ ।
झण्डै एक अर्ब रुपैयाँको लागतमा निर्माण गरिएको एकसय शैयाको एचसीआरसी अस्पताल पछिल्ला वर्षहरूमा विशेषगरी आइभीएफ सेवाका कारण पश्चिम नेपालमै परिचित बन्दै गएको छ । एकसयभन्दा बढीलाई रोजगारी दिएको अस्पतालले स्थानीय तथा दक्ष जनशक्तिलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरिरहेको जनाएको छ ।
अस्पताल प्रमुख डा. कुमारसान शाहले अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाणीकरण प्राप्त हुनु अस्पतालका लागि महत्वपूर्ण उपलब्धि भए पनि यसलाई अन्तिम गन्तव्यका रूपमा नलिइएको बताए । ‘अझै धेरै काम गर्न बाँकी नै छ,’ दक्ष जनशक्तिको अभावले पश्चिम नेपालकै विशिष्टकृत अस्पताल बनाउने सपना साकार पार्न ढिलाई भइरहेको भनाइ राख्दै डा. शाहले दैनिक नेपालगन्जसँग भने, ‘आइएसओको प्रमाणका सबै मापदण्ड पूरा गर्नु पनि त्यो सपना तिरको अर्को पाइला हो ।’
डा. शाहका अनुसार, आइएसओ ९००१ः२०१५ प्रमाणीकरणले अस्पतालको चिकित्सा सेवा, क्लिनिकल प्रशिक्षण, शिक्षण अस्पताल सेवा, निदान तथा प्रयोगशाला सेवा, रेडियोलोजी, फार्मेसी, आकस्मिक सेवा लगायतका सबै प्रमुख सेवालाई समेटेको छ । उनका अनुसार, यो प्रमाणीकरणले अस्पतालको सेवा प्रणाली अन्तर्राष्ट्रिय गुणस्तरअनुसार सञ्चालन भइरहेको पुष्टि गर्नुका साथै निरन्तर सुधार र मानकीकृत कार्यप्रणालीप्रतिको संस्थागत प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गरेको छ ।
अस्पताल प्रमुख डा. शाहले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम राख्न, सेवाग्राहीको सन्तुष्टि बढाउन तथा स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन आइएसओ प्रमाणीकरणले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘आइएसओ ९००१ः२०१५ प्रमाणीकरणलाई केवल उपलब्धि नभई गुणस्तरीय सेवा, व्यवस्थित प्रणाली र निरन्तर सुधारप्रतिको प्रतिबद्धताको मापनका रूपमा लिनुपर्छ ।’
डा. शाहले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि बिरामीलाई अझ सुरक्षित, भरपर्दो, व्यवस्थित र मर्यादित स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको उल्लेख गरे । उनले स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा उत्कृष्टता कायम राख्न अस्पतालले आगामी दिनमा पनि निरन्तर प्रयास जारी राख्ने बताए ।
अस्पतालका अनुसार, यो प्रमाणीकरणले दक्ष जनशक्ति विकास, सेवा प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्ने प्रक्रिया तथा संस्थागत व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
आइएसओ प्रमाणीकरणको प्रमाणपत्र अस्पतालमै आयोजित कार्यक्रममा आइएसओका प्रमुख लेखा परीक्षक भोजराज तिमिल्सिनाले डा. शाहलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा अस्पताल व्यवस्थापन, विभिन्न विभागका प्रमुख, विशेषज्ञ चिकित्सक, नर्सिङ टोली तथा अन्य कर्मचारीको सहभागिता रहेको थियो ।































