‘आशा जगाउने संकेत देखिएन’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारको प्रारम्भिक कार्यसम्पादनले जनतामा विश्वास र आशा जगाउन नसकेको बताएका छन् । जनताले ठूलो अपेक्षासहित सरकार गठन भएको भए पनि हालसम्म देखिएका गतिविधि उत्साहजनक नरहेको उनको टिप्पणी छ ।
शुक्रबार नेपालगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष लिङ्देनले सरकारको सुरुवाती कार्यशैलीबारे असन्तुष्टि व्यक्त गर्दै राप्रपाले भने जिम्मेवार र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गरे । ‘सरकार गठन हुँदा जनतामा ठूलो अपेक्षा थियो,’ उनले भने, ‘तर अहिलेसम्मका गतिविधिले आशा जगाउने संकेत दिएका छैनन् ।’
पार्टीका वरिष्ठ नेता, पूर्वमन्त्री फतेहसिंह थारुको अन्त्येष्टिमा सहभागिताका लागि आइपुगेका पार्टी अध्यक्ष लिङ्देनले राष्ट्रवादी नेताको निधनले पार्टी र राष्ट्रलाई क्षति पुगेको धारणा राखेका थिए ।
लिङ्देनले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटवार्तामा मुलुकका समसामयिक र जनजीविकासँग प्रत्यक्ष जोडिएका विषय उठाएको जानकारी दिए। उनका अनुसार स्वास्थ्य बीमा, रासायनिक मलको अभाव, स्वास्थ्य, शिक्षा र बिजुलीमा लगाइएको कर, सुकुम्बासी समस्या तथा संविधान संशोधनलगायतका विषयमा सरकारको धारणा मागिनुका साथै राप्रपाका तर्फबाट आवश्यक सुझाव पनि प्रस्तुत गरिएको थियो ।
‘हामीले जनतासँग प्रत्यक्ष सम्बन्धित विषयमा सरकारको स्पष्ट धारणा माग्यौं,’ उनले भने, ‘प्रधानमन्त्रीले ती समस्या समाधानका लागि सरकार गम्भीर रहेको जवाफ दिनुभएको छ ।’
पत्रकारहरूले पार्टीका महामन्त्री धवल शमशेर राणाले पार्टी छाडेपछि अघि बढाएको राजसंस्था पुनःस्थापनाको अभियानबारे जिज्ञासा राखेपछि अध्यक्ष लिङ्देनले त्यस विषयमा राप्रपाको धारणा स्पष्ट रूपमा फरक रहेको बताए ।
उनले राप्रपाले आन्दोलन वा विद्रोहको माध्यमबाट राजसंस्था पुनःस्थापना गर्ने पक्षमा नरहेको दोहोर्याए । ‘उहाँहरू आन्दोलन र विद्रोहबाट राजसंस्था ल्याउन चाहनुहुन्छ,’ उनले भने, ‘तर हामी राष्ट्रिय सहमतिमार्फत राजसंस्था पुनःस्थापना हुनुपर्छ भन्ने पक्षमा छौं ।’
राजसंस्थाको भूमिकाबारे पनि पार्टीको धारणा प्रस्ट पार्दै लिङ्देनले राजा अभिभावकीय भूमिकामा रहनुपर्ने र त्यसका लागि राष्ट्रिय सहमति नै उपयुक्त बाटो हुने बताए ।
पत्रकार भेटघाट कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, नेता प्रेमबहादुर भण्डारी, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, लुम्बिनी प्रदेशसभा सदस्य मिना श्रेष्ठसहित पार्टीका अन्य नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।






























