नोट खोस्टा बने, समस्यामा श्रमिक
बाँके प्रहरीले अवैध भारतीय रुपैयाँ सटही कारोबारमा संलग्न रहेको आरोपमा नेपालगन्ज पुष्पलाल चोकस्थित एक होटलका कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार बिहान बसपार्क क्षेत्रबाट न्यू लक्ष्मी होटल एन्ड लजका कर्मचारी वीरबहादुर रावतलाई पक्राउ गरेको हो ।
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अंगुर जीसीले अवैध सटही कारोबार भइरहेको भन्ने सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा रावतलाई रंगेहात पक्राउ गरिएको बताए । उनले दैनिक नेपालगन्जसँग भने, ‘व्यावसायिक रूपमा अवैध सटही कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो । आवश्यक कानुनी कारबाहीका लागि म्याद थप गरिएको छ ।’ उनले त्यस क्षेत्रका केही होटल व्यवसायीले ट्राभल एजेन्सीसँगै अवैध रूपमा मुद्रा सटहीको कामसमेत गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
प्रहरीले ५०० भारतीय रुपैयाँका नोटका बिटासहित ४ लाख भारतीय रुपैयाँ बरामद गरेको जनाएको छ । न्युरोडस्थित एक होटलमा सटही भइरहेको सूचनाका आधारमा रावतलाई पक्राउ गरिएको हो । तर, अवैध सटही गरिदिने होटललाई भने हालसम्म कारबाहीको दायरामा ल्याइएको जानकारी प्रहरीले दिएको छैन ।
पक्राउ परेका रावतमाथि नेपाल राष्ट्र बैंक ऐनको दफा ९५ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ । अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार, बरामद भारतीय नोट अब कानुनी रूपमा प्रयोग गर्न नमिल्ने अवस्थाका छन् । ‘नेपाल राष्ट्र बैंकले पनि स्वीकार नगर्ने भएकाले ती नोटको व्यवहारिक मूल्य छैन,’ एक प्रहरी अधिकृतले भने, ‘नेपालमा १०० भारतीय रुपैयाँभन्दा माथिका नोट आधिकारिक रूपमा प्रयोग गर्न नपाइने भएकाले ती अहिले कागजसरह भएका छन् ।’
समस्यामा श्रमिक
भारत रोजगारीका लागि जान तयारीमा रहेका झन्डै ५० जना गाउँले समस्यामा परेका छन् । भारतमा सटही गर्दा अत्यधिक शुल्क लाग्ने भएकाले होटलमार्फत सहयोग लिएको उनीहरूको भनाइ छ । ‘ऋण गरेर ल्याएको पैसा सटही गर्न दिएका थियौं। प्रहरीले लगेको थाहा पाएपछि ठूलो समस्यामा परेका छौं,’ उनीहरूले दैनिक नेपालगन्जसँग भने, ‘होटलले देओस् वा प्रहरीले, हामीलाई हाम्रो पैसा फिर्ता चाहिन्छ ।’ उनीहरूले रकम फिर्ता नपाए भारत रोजगारीमा जान नसक्ने बताए ।
न्यू लक्ष्मी होटल एन्ड लजका सञ्चालक धर्मराज बस्नेतका अनुसार, जाजरकोटबाट आएका ६ जना ठेकेदारको जिम्मामा रहेका करिब ५० जना श्रमिकलाई भारतीय रुपैयाँ आवश्यक परेपछि रकम संकलन गरी सटहीका लागि कर्मचारी रावतलाई पठाइएको थियो । ‘कानुनबारे जानकारी भएन । उनीहरू हाम्रै गाउँका र होटलका नियमित ग्राहक पनि भएकाले सहयोग गर्न खोज्दा समस्या आयो,’ बस्नेतले भने, ‘सटहीबाट कुनै अनुचित लाभ लिने उद्देश्य थिएन ।’
ठेकेदारमध्येका रामबहादुर शाहीले आफूले ५० हजार भारतीय रुपैयाँ सटहीका लागि होटल सञ्चालकलाई दिएको बताए । ‘पछि प्रहरीले पक्राउ गरेर हाम्रो पैसा पनि लगेको थाहा पाएपछि दुःख लागेको छ,’ उनले भने, ‘भारत जान भाडालगायतका खर्चका लागि आवश्यक रकम सटही गर्न दिएका थियौ ं।’
धान रोपाइँ सकेर भारत हिमाचल प्रदेशमा मजदुरी गर्न हिँडेका श्रमिकहरूले आफूहरू अन्यायमा परेको गुनासो गरेका छन् । ‘हामीलाई कानुनको जानकारी थिएन। हाम्रो पैसा फिर्ता चाहियो,’ उनीहरूले सामुहिक रुपमा भने, ‘होटल सञ्चालकले सहयोग गर्न खोजेका थिए । दिनभर होटलमै बस्नुपर्दा झन् तनाव भएको छ ।’ उनीहरूले भारतमा नेपाली रुपैयाँ सटही गर्दा निकै चर्को शुल्क तिर्नुपर्ने बाध्यता रहेको पनि बताए ।
होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भीमलाल कँडेलले सीमावर्ती क्षेत्रमा हुने व्यवहारिक समस्याप्रति राज्यले पर्याप्त ध्यान नदिँदा सर्वसाधारण मर्कामा परेको बताए । उनले भने, ‘कानुन मात्र हेरेर नागरिकको वास्तविक समस्या बेवास्ता गर्दा नेपालीहरू भारतमा लुटिन बाध्य भएका छन् ।’ उनले नेपाल राष्ट्र बैंकले सटहीसम्बन्धी व्यवस्था व्यवहारिक बनाउनुपर्ने आवश्यकता औंल्याउँदै नागरिकको आवश्यकता र कानुनी व्यवस्थाबीच देखिएको असन्तुलन समाधान गर्न आग्रह गरे ।





























