आर्थिक तथा सामाजिक विकासको मेरुदण्ड मानिने उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रको विकास र विस्तारमा जोड दिइए पनि लुम्बिनी प्रदेशमा उद्योग तथा व्यापारिक फर्म दर्ताको संख्या घटेको देखिएको छ । प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२÷८३ अनुसार चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उद्योग तथा व्यापारिक फर्म दर्ता दुवैमा कमी आएको हो ।
सर्वेक्षणअनुसार लुम्बिनी प्रदेशअन्तर्गतका घरेलु तथा साना उद्योग कार्यालयहरूमा गत आर्थिक वर्ष २०८२÷८३ को चैत्र मसान्तसम्म २ हजार ५ सय १ उद्योग दर्ता भएका छन् । त्यस अघिको गत आर्थिक वर्ष २०८१÷०८२ को सोही अवधिमा २ हजार ५ सय ७९ उद्योग दर्ता भएका थिए । यस आधारमा दुई आ.व.को सोही अवधीको तुलना गर्दा ३ प्रतिशतले घटेको छ ।
उद्योग दर्तासँगै उद्योगको लगतकट्टा हुने क्रमसमेत उल्लेख्य देखिएको छ । आर्थिक वर्ष २०८१÷०८२ को चैत्र मसान्तसम्म १ हजार ६ सय ९५ उद्योगको लगतकट्टा भएकोमा गत आर्थिक वर्ष २०८२÷८३ को सोही अवधिमा ९७५ उद्योगको लगतकट्टा भएको सर्वेक्षणमा उल्लेख छ । उद्योग दर्ता र लगतकट्टाको तथ्यांकले प्रदेशमा नयाँ उद्योग स्थापना हुने तथा सञ्चालनमा रहेका उद्योगको अवस्थाबारे थप अध्ययन आवश्यक रहेको पाइन्छ ।
उद्योग क्षेत्रलाई उत्पादन वृद्धि, रोजगारी सिर्जना, आयआर्जन तथा आयात प्रतिस्थापनको महत्वपूर्ण आधारका रूपमा लिइन्छ । तर उद्योग दर्तामा आएको कमीले प्रदेशमा नयाँ उद्यम स्थापना गर्ने वातावरण, लगानीको अवस्था, बजारको माग तथा उद्यमीको आत्मविश्वासलगायतका विषयमा चुनौती रहेको देखाउँछ ।
लुम्बिनी प्रदेशमा व्यापारिक फर्म दर्ताको अवस्था पनि आर्थिक बर्ष २०८१÷०८२ को तुलनामा आर्थिक बर्ष २०८२÷०८३ मा कमजोर देखिएको छ । आर्थिक सर्वेक्षणअनुसार गत आर्थिक वर्षको चैत्र मसान्तसम्म प्रदेशका घरेलु तथा साना उद्योग कार्यालयहरूबाट २ हजार ९ सय व्यापारिक फर्म दर्ता भएका छन् । आर्थिक वर्ष २०८१÷०८२ को सोही अवधिमा भने ३ हजार ९८ व्यापारिक फर्म दर्ता भएका थिए । यसरी तुलना गर्दा चालु आर्थिक वर्षमा व्यापारिक फर्म दर्ता ६.४ प्रतिशतले घटेको छ ।
आर्थिक वर्ष २०८१÷०८२ को चैत्र मसान्तसम्म १ हजार ६ सय ३१ व्यापारिक फर्मको लगतकट्टा गरिएकोमा गत आर्थिक वर्षको सोही अवधिमा १ हजार ९४ फर्मको लगतकट्टा भएको छ । नयाँ फर्म दर्ताको तुलनामा लगतकट्टाको संख्या कम देखिए पनि व्यापारिक गतिविधि विस्तारमा अपेक्षित गति आउन नसकेको तथ्यांकले देखाएको छ ।
प्रदेशको अर्थतन्त्रमा व्यापार क्षेत्रको महत्वपूर्ण योगदान रहँदै आएको छ । उद्योगबाट उत्पादित वस्तुको बजार विस्तार, रोजगारी सिर्जना, वस्तु तथा सेवाको आपूर्ति र राजस्व संकलनमा व्यापारिक क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । यस्तो अवस्थामा नयाँ व्यापारिक फर्म दर्ता घट्नुले निजी क्षेत्रको लगानी तथा व्यावसायिक वातावरणबारे चासो बढाएको छ ।
रूपन्देहीमा उद्योग र व्यापार दुवैमा अग्रता
प्रदेशका जिल्लामध्ये रूपन्देही उद्योग तथा व्यापारिक फर्म दर्तामा सबैभन्दा अगाडि रहेको छ । आर्थिक सर्वेक्षण २०८२÷८३ अनुसार गत आर्थिक वर्षको चैत्र मसान्तसम्म रूपन्देहीमा ६९५ उद्योग र ९७४ व्यापारिक फर्म दर्ता भएका छन् ।प्रदेशका अन्य जिल्लाको तुलनामा रूपन्देहीमा उद्योग तथा व्यापारिक गतिविधि बढी केन्द्रित रहेको तथ्यांकले देखाएको छ । प्रदेशको प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा विकास हुँदै आएको रूपन्देहीमा बजारको विस्तार, यातायात तथा पूर्वाधारको पहुँच, जनसंख्या वृद्धि र सीमावर्ती व्यापारिक गतिविधिले समेत उद्योग तथा व्यवसाय विस्तारमा भूमिका खेलेको देखिन्छ ।
औद्योगिक क्षेत्रलाई प्रदेशको उत्पादन तथा रोजगारी वृद्धिको प्रमुख आधारका रूपमा लिइए पनि उद्योग दर्ता घट्नुले नयाँ लगानी आकर्षित गर्ने विषयमा चुनौती रहेको देखाएको छ । उद्योग स्थापना तथा सञ्चालनका लागि आवश्यक पूर्वाधार, लगानीको सुनिश्चितता, कर्जामा पहुँच, बजारको अवस्था, कच्चा पदार्थको उपलब्धता तथा प्रशासनिक प्रक्रियाजस्ता विषयले उद्योगी–व्यवसायीको निर्णयमा प्रभाव पार्ने गर्छन् ।
प्रदेश सरकारले उद्योग तथा व्यापार क्षेत्रलाई चलायमान बनाउन लगानीमैत्री वातावरण निर्माण, उद्योग दर्ता तथा नवीकरण प्रक्रियालाई सरल बनाउने, उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने र स्थानीय उत्पादनको बजार विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ ।
त्यस्तै, घरेलु तथा साना उद्योगमा स्थानीय स्रोत, सीप र श्रमको प्रयोग हुने भएकाले यस क्षेत्रको विस्तारले ग्रामीण अर्थतन्त्रलाई समेत चलायमान बनाउन सक्छ ।
स्थानीय स्तरमा रोजगारी सिर्जना र आयआर्जन बढाउन साना तथा घरेलु उद्योगलाई प्रविधि, सीप, वित्तीय पहुँच र बजारसँग जोड्नुपर्ने देखिन्छ ।
आर्थिक सर्वेक्षणको तथ्यांक अनुसार, देशभर २०८२ फागुनसम्ममा दर्ता भएका लघु, घरेलु तथा साना उद्योगको प्रदेशगत विवरण हेर्दा गण्डकी प्रदेशमा दर्ता भएका उद्योगको संख्या सबैभन्दा बढी १ लाख २१ हजार ६ सय ४१ र मधेश प्रदेशमा सबैभन्दा कम १८ हजार ४ सय १९ रहेका छन् भने दर्ता भएका उद्योगहरूमध्ये लुम्बिनी प्रदेशमा ३५ हजार ४ सय ५० रहेका छन् । लुम्बिनी प्रदेशको लघु, घरेलु तथा साना उद्योग दर्तामा ९.१८ प्रतिशत हिस्सा रहेको देखिन्छ । कम्पनी दर्ताको प्रदेशगत विवरण हेर्दा २०८२ फागुनसम्म सबैभन्दा बढी बागमती प्रदेशमा ७०.१ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा १.३ प्रतिशत कम्पनी रहेका छन् भने लुम्बिनी प्रदेशमा यसको हिस्सा ६.८ प्रतिशत रहेको छ ।































