राप्ती नदीको पवित्र तटस्थित सिधनियाघाटमा २४औँ संस्करणको गंगा महाआरती श्रद्धा, भक्ति र उल्लासका साथ सम्पन्न भएको छ । प्रत्येक महिना पुर्णिमाको दिन नियमित रूपमा आयोजना हुँदै आएको आज बुधबार गुरुपुर्णिमाका दिन महाआरतीमा भक्तजनको उल्लेखनीय सहभागिता रहेको थियो ।
बाँके डुडुवा गाउँपालिका वार्ड नं.–४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा महाआरती गरिएको हो ।
साँझको समयमा नदी किनारमा वैदिक मन्त्रोच्चारण, शंखध्वनि, घण्टनाद र दीप प्रज्वलनका बीच सम्पन्न महाआरतीले सम्पूर्ण क्षेत्रलाई आध्यात्मिक वातावरणले भरिएको थियो । आरतीमा सहभागी भक्तजनहरूले राप्ती नदीको पूजा गर्दै देशमा शान्ति, समृद्धि, प्राकृतिक विपद्बाट मुक्ति तथा सबैको सुख, स्वास्थ्य र दीर्घायुको कामना गरेका थिए ।
आयोजक समितिका अध्यक्ष घनश्याम गुप्ताका अनुसार महाआरतीको सुरुआत स्थानीय स्तरमा धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको भए पनि पछिल्लो समयमा महाआरतीको लोकप्रियता उल्लेखनीय रूपमा बढ्दै गएको छ । श्रद्धालुहरू नियमित रूपमा महाआरतीमा सहभागी हुन थालेका छन् ।
महाआरतीमा सहभागी स्थानीयवासीहरूले यस्तो धार्मिक कार्यक्रमले समाजमा सद्भाव, भाइचारा र सकारात्मक ऊर्जा प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनीहरूले राप्ती नदीको संरक्षण, सरसफाइ तथा धार्मिक सम्पदाको प्रवद्र्धनमा समेत महाआरतीले सकारात्मक सन्देश दिएको बताएका छन ।
महाआरतीलाई अझ व्यवस्थित, आकर्षक र राष्ट्रिय स्तरको धार्मिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको मन्दिरका संरक्षक तथा पुजारी आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीले बताउनुभयो । त्यसका लागि घाट व्यवस्थापन, सरसफाइ, प्रकाश व्यवस्था, सुरक्षा तथा आगन्तुकका लागि आवश्यक पूर्वाधार विस्तारमा स्थानीय र प्रदेश सरकार, सामाजिक संघसंस्था तथा समुदायसँग सहकार्य भइरहेको उहाँले बताउनुभयो ।
स्थानीय अगुवा तथा धार्मिक व्यक्तित्वहरूले सिधनियाघाटमा नियमित रूपमा सञ्चालन भइरहेको गंगा महाआरतीले बाँके जिल्लाको धार्मिक पहिचानलाई थप मजबुत बनाउनुका साथै धार्मिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याएको बताउछन । उनीहरूका अनुसार भक्तजनको बढ्दो सहभागिताले महाआरतीप्रतिको जनविश्वास र आस्थालाई झन् सुदृढ बनाएको छ ।
महाआरतीले राप्ती नदी किनारको वातावरणलाई मनमोहक बनाएको थियो । आयोजकले आगामी दिनमा गंगा महाआरतीलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले अझ व्यापक बनाउँदै देशकै महत्वपूर्ण आध्यात्मिक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।
आजको महाआरतीमा लुम्विनी प्रदेशसभा सदस्य मिना श्रेष्ठ, माता जानकी निरौला, बागेश्वरी मन्दिरका साधु सन्त पुजारी, शिवपुरी मन्दिरका बाबा, नेपालगन्ज २०का वडा अध्यक्ष कौशल कुमार धाबीलगायत विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तीहरुको उपस्थिती रहेको थियो ।






























