सुरेन्द्र मधेसिया
भारत–नेपाल सीमावर्ती रुपईडीहास्थित रोडवेज बसपार्कमा भारतका विभिन्न सहरबाट आउने नेपाली यात्रुले ई–रिक्सा चालकको मनपरीका कारण दैनिक सास्ती खेप्दै आएका छन् । बस रोकिनासाथ यात्रुमाथि झम्टिने, सामान खोसाझैं गरेर उठाउने र सवारी तानातान गर्ने घटनाले सीमा क्षेत्रमा अव्यवस्था बढेको भन्दै प्रहरीसमक्ष सुरक्षा व्यवस्था कडा बनाउन माग गरिएको छ ।
समस्या बढ्दै गएपछि रोडवेज डिपो प्रशासनले स्थानीय प्रहरीलाई पटक–पटक जानकारी गराएको छ । त्यसपछि रुपईडीहाका नवागत प्रभारी निरीक्षक हरेंद्र कुमार मिश्रले बिहानको समयमा यात्रुको सुरक्षालाई ध्यानमा राखेर दुई जना आरक्षी खटाइने बताएका छन् ।
उनले दैनिक नेपालगन्जसँग भने, ‘यो विषय मेरो जानकारीमा आएको छ । यात्रुको सुरक्षालाई ध्यानमा राखेर बिहानको समयमा दुई जना आरक्षीको ड्युटी लगाइनेछ । त्यसबाट व्यवस्था कायम गर्न र अव्यवस्था फैलाउनेमाथि प्रभावकारी नियन्त्रण गर्न सकिनेछ ।’
रोडवेज डिपोका प्रभारी राम प्रकाशका अनुसार यस समस्याबारे यसअघि पनि स्थानीय प्रहरीलाई पटक–पटक जानकारी गराइएको छ । उनले प्रतिदिन बिहान १० बजेसम्म रोडवेज डिपो क्षेत्रमा कम्तीमा दुई जना प्रहरीको नियमित ड्युटी आवश्यक रहेको बताए ।
उनले भने, ‘यात्रुको सुरक्षा सुनिश्चित गर्न र कुनै अप्रिय घटना हुन नदिन प्रतिदिन बिहान १० बजेसम्म रोडवेज डिपो क्षेत्रमा कम्तीमा दुई जना प्रहरीको ड्युटी आवश्यक छ ।’
रुपईडीहा बजारमा हरिद्वार, शिमला, दिल्ली, जयपुर, कानपुर, लखनउ, मुम्बई, आग्रा, मथुरा, गोवा र गुजरातलगायत भारतका विभिन्न सहरबाट आउने रोडवेज बसहरू दैनिक सञ्चालन भइरहेका छन् । ती बसहरूबाट ठूलो संख्यामा नेपाली यात्रु सीमा क्षेत्रमा ओर्लिने गरेका छन् ।
प्रतिदिन राति करिब १२ बजेदेखि बिहान १० बजेसम्म आउने बसहरूले राना पेट्रोल पम्पदेखि सेन्ट्रल बैंक चोक र रोडवेज डिपोसम्मका विभिन्न स्थानमा यात्रु ओराल्ने गरेका छन् । यही समयमा केही ई–रिक्सा चालक बस रोकिएलगत्तै चारैतिरबाट बस घेर्ने गरेको आरोप छ ।
स्थानीयका अनुसार, केही चालक जबर्जस्ती बसभित्रै प्रवेश गरेर यात्रुको सामान उठाउन थाल्छन् भने केहीले यात्रुको अनुमति नै नलिई झोला तथा ब्याग आफ्नै ई–रिक्सामा राखिदिने गर्छन् । यस्तो भीडभाड र हतारको फाइदा उठाउँदै कतिपय यात्रुको सामान हराउने गुनासासमेत आउने गरेको छ ।
सवारी चढाउने प्रतिस्पर्धा झन् उग्र बन्दा नेपाली यात्रुमाथि धक्का–मुक्की, सामान तानातान, गालीगलौज र कहिलेकाहीँ कुटपिटसम्मका घटना हुने गरेको स्थानीयको भनाइ छ । यस्ता गतिविधिले सीमावर्ती क्षेत्रको छवि प्रभावित हुनुका साथै नेपाल फर्किने यात्रुमा असुरक्षाको भावना बढ्दै गएको उनीहरूको गुनासो छ ।
यात्रुको चाप हुने समयमै पर्याप्त सुरक्षा व्यवस्था नहुँदा बसपार्क क्षेत्रमा अराजक गतिविधि मौलाउँदै गएको स्थानीयले बताएका छन् । प्रहरीले बिहानको समयमा अतिरिक्त जनशक्ति परिचालन गर्ने प्रतिबद्धता जनाएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुने अपेक्षा गरिएको छ ।





























