दैनिक रेलयात्री संघले रेल मन्त्रालयसँग ग¥यो पहलको आग्रह, नेपाली नागरिकलाई समेत सहज हुने अपेक्षा
सीमावर्ती क्षेत्रका यात्रुको आवागमन सहज बनाउन रूपईडीहाबाट लखनउ र साँझको समयमा गोंडाका लागि थप रेल सेवा सञ्चालन गर्न माग गरिएको छ । दैनिक रेलयात्री संघले रेल मन्त्रालयसँग लखनउको ऐशबागसम्म बिहान र गोंडाका लागि साँझमा रेल चलाउने व्यवस्था मिलाउन आग्रह गरेको हो ।
नेपाल–भारत सीमामा रहेको नेपालगन्ज रोड रेलवे स्टेसनबाट लामो समयको प्रतीक्षापछि रेल सेवा सुरु भएपछि सीमावर्ती क्षेत्रका बासिन्दा खुसी भएका छन् । गत अगस्ट ३० मा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र रेलमन्त्री अश्विनी वैष्णवले संयुक्त रूपमा स्टेसन र रेल सेवाको उद्घाटन गरेका थिए ।
रेल सेवा सुरु भएपछि भारत र नेपालका हजारौँ नागरिकलाई आवागमनमा सुविधा पुगेको छ । ‘तर, रूपईडीहाबाट लखनउसम्म सीधा रेल सेवा नहुँदा यात्रुले अझै समस्या भोग्नुपरेको छ,’ भारतीय पत्रकार सन्तोषकुमार शुक्ल भन्छन्, ‘हाल सञ्चालनमा रहेका रेलबाट रूपईडीहा क्षेत्रका बासिन्दासँगै नेपाली नागरिकले पनि कम भाडामा नानपारा, बहराइच, गोंडालगायत स्थानमा यात्रा गरिरहेका छन् ।’ उनले लखनउ जान सीधा रेल उपलब्ध नहुँदा निजी सवारीसाधन प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए । विशेषगरी उपचार, व्यापार र अन्य आवश्यक कामका लागि लखनउ जाने नेपाली नागरिकले बढी भाडा तिर्नुका साथै समयसमेत खर्चिनुपरेको छ ।
दैनिक रेलयात्री संघका अध्यक्ष तथा रूपईडीहाका कपडा व्यवसायी जाफर इमाम रिजवीले रूपईडीहाबाट बिहान ६ः३० बजे लखनउको ऐशबाग रेलवे स्टेसनसम्म जाने र राति ९ः३० बजेसम्म रूपईडीहा फर्किने रेल सञ्चालन गर्न माग गरेका छन् । यस्तो सेवा सुरु भए एकै दिनमा लखनउ पुगेर उपचार गराउन, आवश्यक काम सक्न र व्यापारका लागि सामान खरिद गरी फर्किन सहज हुने उनको भनाइ छ । राति १० बजे नेपाल–भारत सीमा बन्द हुने भएकाले नेपाली नागरिकलाई पनि समयमै स्वदेश फर्किन सहज हुने उनले बताएका छन् ।
रिजवीले साँझको समयमा गोंडाबाट नेपालगन्ज रोडका लागि रेल उपलब्ध नहुँदा यात्रुले भोग्नुपरेको समस्यासमेत उठाएका छन् । उनका अनुसार, यसबाट स्थानीय व्यापारी, विद्यार्थी, वकिल र सरकारी कर्मचारीलाई आवतजावतमा कठिनाइ भइरहेको छ ।
समस्या समाधानका लागि बहराइचबाट साँझ ६ बजे रूपईडीहाका लागि डेमो रेल सञ्चालन गर्न र त्यही रेललाई साँझ ७ः३० बजे रूपईडीहाबाट गोंडाका लागि पठाउन माग गरिएको छ । यसो गर्दा दैनिक बहराइच आवतजावत गर्ने यात्रुलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
नेपालगन्ज रोड रेलवे स्टेसन सीमावर्ती क्षेत्रका भारत र नेपालका नागरिकका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै रिजवीले लखनउसम्म सीधा रेल सेवा र गोंडाका लागि साँझको अतिरिक्त सेवा सुरु भए दुवै देशका नागरिक लाभान्वित हुने बताए ।
दैनिक रेलयात्री संघका अध्यक्ष रिजवीसहित मनोज गुप्ता, अमित जैन, खालिद, ए.के. सिंह, अखिलेश पाण्डेयलगायत सयौँले यात्रुको सुविधालाई ध्यानमा राख्दै प्रस्तावित दुवै रेल सेवा सञ्चालनका लागि रेल मन्त्रालयसँग माग गरेका छन् ।






























