‘धरहराको बकपत्र’ विमोचित
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले शनिवार भव्य कार्यक्रम आयोजना गरि चार जना स्रष्टालाई बद्रीविक्रम पूर्णिमा साहित्य पुरस्कारबाट सम्मान गरेको छ । प्रतिष्ठानले साहित्यिक योगदानको कदर गर्दै विसं २०८२ र २०८३ का लागि दुई विधामा पुरस्कार प्रदान गरेको हो । सोही अवसरमा प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजालको कविता संग्रह ‘धरहराको बकपत्र’ विमोचन गरिएको छ ।
प्रतिष्ठानले नेपालगन्जका उर्दू साहित्यकार मुस्तफÞा अहसन कÞुरैशी र प्युठानमा जन्मिएका बालसाहित्यकार तथा बाल साहित्य समाजका केन्द्रीय अध्यक्ष विजयराज आचार्यलाई बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार प्रदान गरेको छ । कÞुरैशीलाई विसं २०८२ र आचार्यलाई विसं २०८३ को पुरस्कार अर्पण गरिएको हो । नेपालगन्जको उर्दू साहित्यको संस्थागत गतिविधिमा सक्रिय कुरैशी गजल लेखनमा सशक्त छन् ।
यसैगरी, बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कारबाट कैलालीका कवि तथा सञ्चारकर्मी पुष्पराज जोशी र बर्दियाकी कवि निरन्जना चन्द निरू सम्मानित भएका छन् । जोशीलाई विसं २०८२ र चन्दलाई विसं २०८३ को पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । चारै जना स्रष्टालाई जनही २० हजार रुपैयाँ नगदसहित दोसल्ला, माला र सम्मानपत्र प्रदान गरिएको थियो ।
कर्मयोगी बद्रीविक्रम थापाको सम्मानमा उनका सुपुत्र किरण थापाले प्रतिष्ठानमार्फत प्रदान गर्ने गरी पुरस्कार स्थापना गरेका हुन् । पूर्णिमा साहित्य प्रतिष्ठानले हरेक वर्ष दुई स्रष्टालाई प्रदान गर्दै आएको यो सम्मानले साहित्यिक सिर्जना र प्रतिभाको कदर गर्दै आएको छ ।
पुरस्कार वितरणसँगै आयोजित कार्यक्रममा डा. रिजालको कविता संग्रह ‘धरहराको बकपत्र’ सार्वजनिक गरिएको थियो । प्रमुख अतिथि प्राडा गोपालप्रसाद अधिकारी, साहित्यकार नरेन्द्रजंग पिटर, वागेश्वर बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल, प्रगतिशील लेखक संघका सचिव डा. हरि तिमिल्सिना, कृतिकार डा. रिजाल र उनकी धर्मपत्नी कमला अधिकारीलगायतले संयुक्त रूपमा कृति विमोचन गरेका थिए ।
कविता संग्रहको साहित्यिक विशेषतामाथि टिप्पणी गर्दै प्रमुख अतिथि अधिकारीले रिजालका कवितामा विभिन्न उमेर समूहका मानिसका संवेदना समेटिएको बताए । उनका अनुसार, कृतिमा पूर्वीय काव्यशास्त्रका मूल्य र मान्यतासँगै पाश्चात्य उत्कृष्ट कवितासँग तुलना गर्न सकिने विशेषता छन् ।
‘रिजालका कविताले बालक, युवा र प्रौढ सबै उमेर समूहका संवेदनालाई टिपेका छन् । मानवतावादी चिन्तन, नेपाली जनजीवनका यथार्थ चित्र, ध्वनिगत सबलता, गहनता रिजालजीका कविताको बलियो पक्ष हो,’ अधिकारीले भने। उनले रिजालका कविता सबै उमेर र वर्गका पाठकसँग जोडिन सक्ने धारणा राखे ।
कृतिमाथि समीक्षा गर्दै पूर्व जिल्ला शिक्षा अधिकारी तथा साहित्यचिन्तक निलकण्ठ रेग्मीले संग्रह मातृवन्दनाबाट सुरु भएर जन्मभूमिप्रतिको श्रद्धामा टुंगिएको बताए । उनले पूर्वीय कविता सिद्धान्तका आधारमा डा. रिजालका कृतिभित्र रहेका ८८ वटा कविता उत्तम काव्यको कोटिमा पर्ने विश्लेषण गरे ।
समीक्षक डा. हरिप्रसाद तिमिल्सिना र डा. खोपीराम वली क्षेत्रीले पनि संग्रहका कविताको संरचना, भावभूमि र शीर्षकीकरणमाथि चर्चा गरे । उनीहरूले कवितामा ध्वनिचेतना, समसामयिकता, बिम्बविधान, मिथक, इतिहास र संस्कृति चेतनाको सुन्दर संयोजन रहेको बताए । उनीहरूका अनुसार यी पक्षले कृतिलाई साहित्यिक दृष्टिले महत्वपूर्ण बनाएका छन् ।
कार्यक्रममा साहित्यकार नरेन्द्रजंग पिटर, महानन्द ढकाल, ईश्वरीप्रसाद रिजाल तथा सम्मानित स्रष्टाहरू मुस्तफÞा अहसन कÞुरैशी, पुष्पराज जोशी र निरन्जना चन्दलगायतले मन्तव्य दिएका थिए । उनीहरूले साहित्यिक सिर्जना, स्रष्टाको सम्मान र यस्ता कार्यक्रमले नेपाली साहित्यको विकासमा पु¥याउने योगदानबारे धारणा राखेका थिए ।
साहित्यकार सागर गैरेले पुरस्कार तथा सम्मानित स्रष्टाहरूको परिचय दिएका थिए। प्रतिष्ठानका पूर्व अध्यक्ष कपिल अन्जानले संस्थाले सञ्चालन गर्दै आएका साहित्यिक गतिविधिबारे जानकारी गराएका थिए ।
कार्यक्रममा बाँके, बर्दिया, कैलाली, दाङ, सुर्खेत, दैलेख र जुम्लालगायत क्षेत्रका साहित्यकार, प्राध्यापक, शिक्षक तथा सञ्चारकर्मी सहभागी थिए । प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजालको अध्यक्षतामा भएको कार्यक्रम सहसचिव प्रकाश मरासिनीको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव केशव निमेषले गरेका थिए ।






























