सामान्यतया बाँदर वनजंगलमा बस्ने वन्यजन्तु हुन् । जंगलमा उपलब्ध फलफूल, पात, बीउ, कीरा तथा अन्य प्राकृतिक आहारमा निर्भर रहने बाँदर पछिल्लो समय मानव बस्तीमा समेत देखिन थालेका छन् । बाँकेका नेपालगन्ज बजारसहित आसपासका बस्तीमा बाँदरको आतंक बढ्दै गएको छ । घरका छतमा दौडिने, इन्टरनेट तथा टेलिफोनका तारमा झुण्डिएर हिँड्ने, छतमा सुकाएका कपडा तान्ने, खानेकुरा खाने तथा पसलबाट सामान खोस्ने जस्ता गतिविधिले स्थानीयवासी हैरान भएका छन् । बाँदरले मानिसलाई टोक्ने, चिर्थोने र बालबालिकालाई आक्रमण गर्न खोज्ने गरेको गुनासोसमेत बढ्न थालेको छ ।
नेपालगन्ज बजारका विभिन्न क्षेत्रमा बाँदरका झुण्ड घरका छत, विद्युत् तथा सञ्चारका तार र पसल आसपास देखिने गरेका छन् । घरमा राखिएका खानेकुरा खाने, छतमा सुकाएका कपडा तानेर फालिदिने र पसलमा राखिएका सामान तथा खानेकुरा खोस्ने गर्दा सर्वसाधारणलाई दैनिक कामकाज गर्नसमेत समस्या भइरहेको स्थानीय बताउँछन् ।
स्थानीय विज्रेश शर्माका अनुसार सहर छिरेका बाँदरले आतंक सिर्जना गरेका छन् । बाँदरले घरको छतमा सुकाएका कपडा तान्ने, तल फालिदिने र घरमा राखिएका खानेकुरासमेत खाने गरेको उनले बताए । घरको छतमा सामान राख्न तथा कपडा सुकाउनसमेत समस्या हुन थालेको उनको भनाइ छ ।
नेपालगन्जको त्रिवेणीमोडका छोटेलाल गुप्ताले बाँदर इन्टरनेट तथा टेलिफोनका तारमा झुण्डिएर हिँड्ने गरेको बताए । तारमा झुण्डिएर एक ठाउँबाट अर्को ठाउँमा जाने बाँदरका कारण सञ्चारका तारमा क्षति पुग्न सक्ने जोखिमसमेत रहेको स्थानीयको चिन्ता छ ।
फुल्टेक्राकी बबिता अधिकारीका अनुसार बाँदर सधैँ नआए पनि झुक्याएर आउने र एउटा घरको छतबाट अर्को घरको छतमा हाम फाल्दै हिँड्ने गर्छन् । बाँदरको आवतजावत अनियमित हुने भएकाले सतर्क रहनसमेत कठिन हुने गरेको उनले बताइन् ।
स्थानीय शिव गिरीका अनुसार बाँदर दिनरात जुनसुकै बेला घरभित्र प्रवेश गर्ने गरेका छन् । घरमा राखिएका खाना तथा अन्य खाद्यवस्तु खाने, ढोका खोलेर भाँडाकुँडा उठाएर लैजाने र बालबालिकालाई आक्रमण गर्न खोज्ने जस्ता गतिविधिले घरपरिवारलाई त्रसित बनाएको उनले बताए । घरको ढोका बन्द गरेर राख्दा पनि सतर्क रहनुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ ।
बाँदरको समस्या नेपालगन्ज बजारमा मात्रै सीमित छैन । आसपासका बस्ती तथा पालिकाका विभिन्न क्षेत्रमा पनि बाँदरले स्थानीयलाई सताउन थालेका छन् । जानकी गाउँपालिका–५ का रुस्तम अलि दर्जीले बाँदरको झुण्डले मानिसलाई एक्लै पाउँदा घेरेर आक्रमण गर्ने गरेको बताए । उनका अनुसार बाँदरले बालबालिकालाई टोक्न खोज्ने, बारीमा लगाएका तरकारी खाने तथा टिपेर फालिदिने गरेका छन् । यसबाट बालबालिकाको सुरक्षासँगै किसानको मेहनत र उत्पादनसमेत प्रभावित भइरहेको उनको भनाइ छ ।
जानकीकै रामकुमार यादवले गाउँमा धेरै व्यक्तिलाई बाँदरले टोकेको घटना रहेको बताए । बाँदरले बालीनाली नष्ट गर्ने र मानिसलाई समेत आक्रमण गर्ने गरे पनि नियन्त्रणका लागि स्थानीय तहले पर्याप्त चासो नदिएको उनको गुनासो छ । बाँदरको समस्या समयमै समाधान गर्न नसकिए आगामी दिनमा जनधनको क्षति बढ्न सक्ने उनले चिन्ता व्यक्त गरे ।
डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी टंकबहादुर गुरुङले जंगलमा खानेकुराको अभाव, बाँदरको खानपानको बानीमा आएको परिवर्तन तथा मानिसले खाएको वा फालेको खानेकुरा मन पराउने प्रवृत्तिका कारण बाँदर सहर पस्ने र पुनः जंगल नफर्किने अवस्था हुन सक्ने सम्भावना औँल्याए । मानिसको बस्तीमा सजिलै खानेकुरा प्राप्त हुने अवस्था बाँदरलाई आकर्षित गर्ने एउटा कारण हुन सक्ने उनको भनाइ छ ।
भेरी अस्पतालमा बाँदरले टोकेका ४० घटना रेकर्ड
भेरी अस्पताल नेपालगन्जमा सञ्चालनमा रहेको ‘बाइट रजिष्ट्रि’को प्रारम्भिक तथ्यांकमा बाँदरले टोकेका ४० वटा घटना अभिलेख भएका छन् ।
भेरी अस्पतालमा चालु आर्थिक बर्षको हालसम्मको तथ्यांक अनुसार टिकट काउन्टरबाट कुकुर तथा अन्य जनावरको टोकाइ, सर्पदंश र अन्य विषालु जीवजन्तुसँग सम्बन्धित १ हजार ७ सय ५२ वटा दर्ता भएका छन् । तीमध्ये १ हजार ६२ ओपीडी र ६ सय ९० आकस्मिक कक्ष (इमर्जेन्सी) का दर्ता हुन् ।
अस्पतालका बाइट रजिष्ट्रि अनुसन्धानका प्रमुख अनुसन्धाता तथा प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. बद्री चापागाईंका अनुसार, रजिष्ट्रिमा विस्तृत विवरण समावेश भएका १ हजार २ सय २२ वटा भएपनि अभिलेख ७ सय ४६ जना फरक–फरक बिरामीसँग सम्बन्धित छन् । ‘एउटै बिरामीले कुकुरको टोकाइपछि एन्टिरेबिज भ्याक्सिन (एआरभी) का तीन डोज लगाउनुपर्ने अवस्थालगायत कारणले दर्ता संख्या र बिरामीको संख्या फरक देखिएको हो’, उनले भने ।
विस्तृत अभिलेखमध्ये १ हजार ५९ वटा जनावरको टोकाइका घटना छन् । तीमध्ये करिब ८ सय ६५ वटा कुकुरको टोकाइसँग सम्बन्धित छन् । त्यस्तै, बाँदरको टोकाइका ४० घटना अभिलेख भएका छन् । यसबाहेक १ सय ३५ वटा सर्पदंश, २३ वटा अन्य वा अज्ञात प्रकृतिका घटना र पाँच वटा कीरा तथा अन्य साना जीवजन्तुको टोकाइका घटना दर्ता भएका छन् ।
भेरी अस्पतालमा पश्चिम नेपालका बर्दिया, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुमलगायत जिल्लाबाट पनि बिरामी आउने गरेका छन् ।






























