इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले परिषदको ३ सय ३३ औँ बैठकबाट सिए तेज प्रकाश दीक्षितको संयोजकत्वमा नेपालगन्ज शाखा समन्वय समिति गठन गरिएको छ ।
सदस्यमा चार्टर्ड एकाउन्टेन्ट्को तर्फबाट सिए सागर अधिकारी, सिए प्रवन्जन रेग्मी, सिए मोहसिन खान र दर्तावाल लेखापरीक्षको तर्फबाट आरए भुवन प्रसाद गैरे आरए अनिता कुमारी श्रेष्ठ, आरए दीपक प्रसाद रेग्मी र सचिवमा आइक्यान नेपालगन्ज शाखाका प्रमुख निर्मला चौधरी रहेका छन् ।
शाखा समन्वय समितिले सरोकारवाला संग समन्वय गर्न, सदस्यहरूको क्षमता अभिवृद्धि गर्नकोलागि विभिन्न तालिम सञ्चालन गर्न र सेवाग्राहीहरुलाई प्रभावकारी ढंगले सेवा प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
गठित समितिका संयोजक तेज प्रकाश दीक्षितको अध्यक्षतामा नेपालगन्ज शाखा समन्वय समितिको बैठक बसि सदस्यहरूको क्षमता अभिवृद्धि गर्नको लागि विभिन्न कार्यक्रमहरु गर्ने बारे निर्णय गरेको छ ।
इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) विशेष ऐन “नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३” अन्तर्गत स्थापित नियमनकारी निकाय हो । यसले नेपालमा लेखासम्बन्धी पेशा तथा शिक्षालाई नियमित गर्न नियमनकारी निकायको रूपमा कार्य गर्दछ । यस संस्थाले चार्टर्ड एकाउन्टेन्ट्स शिक्षाको पहिलो विद्यार्थी सन् १९९९ मा भर्ना लिएको थियो भने सन् २००२ मा पहिलो चार्टर्ड एकाउन्टेन्ट तयार गरेको थियो ।
आइक्यानले मुलुकको आर्थिक विकास तथा सार्वजनिक हितको विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, ऐन कानुन तथा सरकारको नीतिहरूमा रचनात्मक सुझाव प्रदान गर्न र लेखा व्यवसायको सम्बन्धमा सामाजिक मान्यता तथा विश्वास अभिवृद्धि गर्न कार्य गर्दै आएको छ ।
सदस्यहरुको ज्ञान, सीप तथा दक्षता वृद्धि गर्ने उद्देश्यले वर्षभरि नै अनवरत व्यावसायिक शिक्षा, तालिम लगायत समसामयिक विषयमा अन्य प्रशिक्षण पनि सञ्चालन गर्दै आएको छ । सामान्यतया लेखा, लेखापरीक्षण, कर्पोरेट कानुन, सूचना प्रविधि तथा करसम्बन्धी विषयवस्तुलाई समावेश गरी तालिम सञ्चालन गरिरहेको छ । सो बाहेक संस्थाले समयसमयमा अन्तर्राष्ट्रिय निकायले सञ्चालन गर्ने तालिम, पोस्ट क्वालिफिकेसन कोर्स, विभिन्न सेमिनार, सम्मेलन तथा गोष्ठी एवं अन्तक्र्रिया कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
यस संस्थाको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा अवस्थित छ भने क्षेत्रीय कार्यालयहरू विराटनगर, बुटवल, विरगंज, नेपालगन्ज, धनगढी तथा पोखरामा रहेका छन् । हाल आइक्यानमा करिब दुई हजार दुई सय जना चार्टर्ड एकाउन्टेन्ट (सीए) र करिब सात हजार एक सय रजिष्टर्ड अडिटर (आरए) सदस्यको संख्या रहेको छ ।