प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा बिहीबार नेपालगन्ज वडा नं. १८ का वडाध्यक्ष दिपक कुमार बर्माले जग्गा दान गरेका छन् ।
वैकुण्ठधाम निर्माणमा सघाउनका लागि अध्यक्ष बर्माले २६ धुर जग्गा वैकुण्ठधामलाई दान गरेको महोत्सवका आर्थिक संयोजक कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।
अध्यक्ष बर्माले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ को सोल्टी होटल नजिकैको एक कठ्ठा ६ धुर घडेरीको जग्गा बैकुण्ठधाम सिधनियाघाट समितिका दिने घोषणा गरेका हुन् ।
आध्यात्मिक महोत्सवका क्रममा बैकुण्ठधामलाई भूमिदान गर्ने बर्मा पहिलो हुन् । ‘हामी भूमिपुत्र हौं, हाम्रो सम्पत्ति मात्रै होइन जीवन भनेकै भूमि हो’, धर्मपत्नि सहित भाई ‘वेद प्रकाश बर्मा (बब्लु)लाई लिएर वाचन शिरोमणि पण्डित दिनबन्धु पोखरेल समक्ष पुगेका बर्माले भने ।