नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति बाँकेका लागि नेतृत्व चयन प्रक्रिया पेचिलो हुँदै गएको छ । सर्वसम्मत नेतृत्व चयनको प्रक्रियाले मतदान कार्यको पूर्व निर्धारित सूचि प्रभावित भैरहँदा नेतृत्वका दुई पद बाहेक सबै सर्वसम्मत भएको छ । तर, अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पद भने सर्वसम्मत हुन सकेन ।
प्रमुख निर्वाचन अधिकृत अधिवक्ता विकास आचार्यका अनुसार, अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बाहेकका सबै पद सर्वसम्मत भएका छन् । ‘तोकिएको समयमा निर्वाचन प्रक्रिया अनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बाहेकका पदमा निर्विरोध निर्वाचित भएका छन्’, अधिवक्ता आचार्यले दैनिक नेपालगन्जसँग भने, ‘निर्वाचन हुन बाँकी दुई पदका लागि शुक्रबार विहान १० देखि २ बजेसम्म मतदानको कार्यसूचि तय भएको छ ।’ अध्यक्ष पदका लागि वर्तमान समितिका महासचिव गिरिराज भुसाल ९जिआर० र पूर्व अध्यक्ष समर बहादुर खत्रीको उम्मेदवारी छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा ज्योतिलाल भण्डारी र किरण बहादुर कार्की उम्मेदवार छन् ।
‘उद्योगको अवस्था निकै नकारात्मक भएकाले व्यवसायीहरू बीचको एकता आजको आवश्यकता हो’, अध्यक्ष पदका उम्मेदवार भुसालले दैनिक नेपालगन्जसँग भने, ‘यो अवस्थालाई सकारात्मक ढंगले दिशा निर्देश गर्न सक्ने युवा नेतृत्व सकेसम्म सर्वसम्मत हुन सकोस् भन्ने अधिकांसको चाहनाले निर्वाचन प्रक्रिया लम्बिएको हो ।’
अध्यक्ष मधु खड्काले सर्वसम्मत नेतृत्व चयन प्रक्रियालाई अन्तिमसम्म सफल बनाउने प्रयास भैरहेकाले नेतृत्वका दुई मुख्य पद पनि सकेसम्म व्यवसायिक हितमा अहोरात्र खट्नसक्ने व्यक्तित्वको छनोट होस् भन्ने कुरामा अग्रजहरू लागि परेको जानकारी दिइन् ।
मुख्य निर्वाचन अधिकृत अधिवक्ता आचार्यका अनुसार, उपाध्यक्ष पदमा रामु लम्साल, महासचिव दिपक राज भण्डारी, सचिव नन्दकली कंडेल ९खरेल०, कोषाध्यक्ष हुमा शंकर ओली निर्विरोध निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरूमा विधान न्यौपाने, सुमन धिमाल, सिमिता राणा, अर्चना घिसिङ, डिलाराम पौडेल निर्वाचित भए ।
त्यस्तै, सफि मोहम्मद गुजर, सलिल खड्का, जित बहादुर कंडेल, मोहन रिजाल, रुद्र बहादुर कंडेल, इन्द्र बहादुर खत्री, अर्जुन कुमार चौधरी, माधव प्रसाद रिजाल र अजय कुमार बर्मा सदस्य पदमा सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यसअघि मिना कुमारी डाँगीको अध्यक्षतामा जिल्ला महिला उद्यमी संघको कार्यसमिति सर्वसम्मत भैसकेको थियो ।