नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दै टेक ओभर गरेको छ ।
नेपालगन्ज राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार, ख वर्गको मान्यता प्राप्त गरेको कर्णाली डेभलपमेन्ट बैंकलाई समस्या ग्रस्त घोषणा गरेको हो ।
कर्णाली बैंक समस्याग्रस्त घोषणा भएको सार्वजनिक भएसँगै बचतकर्ता बैंक पुगेर आफ्नो बचत रकम फिर्ता मागिरहेका छन् ।
बैंकका कर्मचारीले उनीहरुलाई केही दिनभित्र बैंकको कारोवार सुरु हुने, बचत फिर्ता हुने आश्वासन दिएर फर्काइरहेका छन् ।
‘राष्ट्र बैंक हाम्रो नियामक निकाय हो, उसको भूमिका अभिभावकीय हुन्छ’, कर्णाली बिकास बैंकका अध्यक्ष डाक्टर ओमप्रकाश मिश्रले भने, ‘ढुक्कसँग यो भन्न सकिन्छ बचतकर्ताको सबै
रकम सुरक्षित हुन्छ, डुब्दैन, फिर्ता हुन्छ ।’
बैंक सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ । समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ । समूहले बिहीबारदेखि संस्थाको तोकिएको जिम्मेवारी सम्हालेको छ ।