अन्तरालको आयोजनामा नेपालगन्जमा हुनलागेको प्रथम लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको कानूनी सल्लाहकारमा बरिष्ठ अधिवक्ता लोकबहादुर शाहलाई मनोनयन गरिएको छ ।
वरिष्ठ अधिवक्ता शाह नेपाल बार एसोसिएशन पुनरावेदन अदालत नेपालगञ्जका पूर्व अध्यक्ष हुनुहुन्छ । सटिक राजनीतिक विश्लेषकको पहिचानसमेत बनाउनुभएका शाहका सामाजिक, राजनीतिक र कानुनका विषयमा विभिन्न लेख, रचना प्रकाशित हुने गरेका छन् ।
अन्तरालका कार्यकारी प्रमुख शाहले वरिष्ठ अधिवक्ता शाहलाई लुम्बिनी कप महिला फुटबलको कानूनी सल्लाहकारमा मनोनयन गर्न पाउँदा खुसी लागेको बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘लुम्बिनी कप महिला फुटबल महिला खेलाडीलाई अवसर प्रदान गर्न आयोजना गरिएको हो ।’ उहाँको थप भनाइ छ, ‘महिला फुटबल प्रतियोगिताले खेलाडीको स्तरवृद्धि गर्नुका साथै पश्चिम नेपालको खेल, पर्यटन तथा व्यवसायिक क्षेत्रको विकासमा समेत टेवा पुर्याउने छ ।’
लुम्बिनी कप महिला फुटवल प्रतियोगिता आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्जमा हुँदैछ । नेपालगञ्ज रंगशालामा हुने प्रतियोगितामा नेपाल र छिमेकी मित्रराष्ट्र भारतका गरी आठ टिम सहभागी हुने जनाइएको छ ।
यसैबीच, लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजक टीमले प्रतियोगिता संचालनको विविध पक्षबारे स्थलगत छलफल गरेको छ । नेपालगञ्ज रंगशालाको पूर्वाधारको निरीक्षण पश्चात बसेको बैठकले रंगशाला प्याराफिटको सरसफाई तथा रंगरोगन, खेल मैदानको सुधार, टिकट विक्रीको व्यवस्थापन, अतिथि, प्राविधिक टोली, खेल पदाधिकारी तथा खेलाडीहरुको उचित व्यवस्थापन लगायतका बिषयमा छलफल गरेको थियो ।
आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहको अगुवाईमा भएको छलफलमा सचिवालय प्रमुख रमेश मल्ल, मिडिया संयोजक नीरज गौतम, लुम्बिनी कप महिला फुटबलका सहयोगी संस्था बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, मध्यपश्चिम खेलकुद विकास समिति लुम्बिनी प्रदेशका प्रमुख तेजविक्रम शाहलगायतको उपस्थिति रहेको थियो ।