संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले युरोपेली युनियन (ईयू) को आकाशमा नेपाली एयरलाइन्सको हवाई उडानमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गर्नुभएको छ ।
नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जोसहितको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री पाण्डेले ईयूको आकाशमा नेपाली एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध चाँडै फुकुवा गरेर सहयोग गरिदिन अनुरोध गर्नुभएको हो । पर्यटनमन्त्री पाण्डेले नेपाल र ईयूबीच पहिलेदेखि कूटनीतिक सम्बन्ध रहेको स्मरण गराउँदै नेपाल र ईयूबीच साझेदारी रहेको उल्लेख गर्नुभयो ।
उहाँले नेपाल र ईयूबीच करिब पाँच दशकअघि कूटनीति सम्बन्ध स्थापना भएदेखि घनिष्ट सम्बन्ध रहेको र ईयू नेपालको प्रमुख विकास साझेदारको रुपमा रहेकोप्रति कृतज्ञता प्रकट गर्नुभयो ।