मुलुकभर सहिद दिवसको अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको थियो । सहिद दिवसमा नेपालगन्जका सबैजसो विद्यालय बन्द रहँदा विद्यालय समयमा गोल्डेन एबिसी एकेडेमी बाँके हाइस्कुलका विद्यार्थीहरू भने विद्यालय परिसरमा लामबद्ध थिए । ‘वीर सहिद अमर रहुन्’ लगायतका सहिदका सम्मानमा लेखिएका प्लेकार्ड बोकेर लामबद्ध विद्यार्थीहरूले सोही अनुसारको नारा गुञ्जायमान गराइरहेका थिए ।
सहिदले स्वतन्त्रताका लागि ज्यानकै आहुती दिएर पुर्याएको योगदानप्रति सम्मान व्यक्त गर्दै गोल्डेन एबीसीले आयोजना गरेको र्यालीमा समेत विद्यार्थीले उत्साहजनक सहभागिता जनाए । विद्यालय परिसर नेपालगन्जको सल्यानीबागबाट ८ सय २५ विद्यार्थी सहित शिक्षक कर्मचारी गरी ९ सय सहभागी र्याली सहरका विभिन्न भागको परिक्रममा पछि विद्यालय पुगेर समापन भएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थी बालबालिकाले सहिदको सम्मान गर्दै उनीहरूको संघर्षका कारण आज स्वतन्त्रता र अधिकार पाएको भन्दै उनीहरूको सम्मान गर्नुपर्ने धारणा राखेका थिए । उनीहरूले विद्यालयले गर्ने विभिन्न यसखाले सिर्जनात्मक गतिविधिले आफुहरूलाई निकै सहयोग पुर्याउने बताए । ‘राष्ट्र, राष्ट्रियता र त्यसको विकास, विस्तारमा योगदान गर्नेहरूबारे विद्यार्थीले थाह पाउने अवसर पनि हो यो,’ शिक्षकहरूको भनाइ थियो ।
प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झना तथा विद्यार्थीहरूलाई त्यसको महत्व बुझाउनका लागि विद्यालयले सहिद दिवस औपचारिक रूपमा मनाएको गोल्डेन एबीसी एकेडेमी बाँके हाइस्कुलका प्रबन्ध निर्देशक विकास बहादुर सिंहले जानकारी दिए ।
विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरूबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।
‘विद्यार्थीले सहिदले गरेको त्यागको सन्देश विद्यार्थीले थाहा पाउनु पर्छ भर्ने हाम्रो धारणा हो’, गोल्डेन एबीसीका प्रबन्ध निर्देशक सिंहले दैनिक नेपालगन्जसँग भने, ‘सहिदको त्याग बुझाउँदा विद्यार्थीले राष्ट्रप्रतिको जिम्मेवारी बोध गर्न सक्छ ।’ प्रबन्ध निर्देशक सिंहले विद्यालयले सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान दिंदै आएको उल्लेख गर्दै भने, ‘त्यसका लागि विभिन्न अतिरिक्त क्रियाकलाप विद्यालय सञ्चालन गर्दै आएको छ ।’
गोल्डेन एबीसी एकेडेमी बाँके हाइस्कुलकी फाउण्डर प्रिन्सिपल मधु सिंह खत्रीले सहिद दिवस महत्वपूर्ण रहेको आशय व्यक्ति गरिन् । उनले सहिदले प्रजातन्त्रका लागि पुर्याएको योगदानको सम्मान गर्दै विद्यार्थीलाई पनि त्यसबारे जिम्मेवार बनाउनका लागि विद्यालयमा र्यालीको आयोजना गरेको बताइन् ।
कक्षा १० मा अध्ययरत् छात्रा भूमिका देवकोटाले राणा शासनको अन्त्य गर्ने सहिदको भूमिकाको सम्मानका लागि विद्यालयले आयोजना गरेको विद्यार्थी, शिक्षक संयुक्त र्यालीले निकै राम्रो सन्देश दिएको बताइन् । उनले नेपालमा अधिकारका लागि धेरै जना सहिद भएको बताइन् । कक्षा ८ की रक्षा थापाले सहिदप्रति सम्मान व्यक्त गरिन् ।
कक्षा १० का छात्र सुशान्त आचार्यले नागरिक स्वतन्त्रताकालागि सहिदहरूले आफ्नो जीवन समर्पित गरेको बताए । ‘जनताका सेवा, सुविधा, अधिकार कुण्ठित भएकाले बेला त्यसविरुद्ध आन्दोलन गरेकाहरूलाई मृत्युदण्ड दिइएको हो’, उनले भने ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
गोल्डेन एबीसी एकेडेमी बाँके हाइस्कुलका प्रबन्ध निर्देशक विकास बहादुर सिंहले विद्यार्थीहरूलाई गुणस्तरिय शिक्षासँगै आफ्नो विद्यालयले सामाजिक चासोका क्षेत्रमा जानकारी दिने गरिएको बताए । ‘सिर्जनात्मक क्षमता अभिवृद्धिमा विद्यालयले निकै महत्व दिइरहेको छ,’ गोल्डेन एबीसी क वर्गको विद्यालय भएकाले विद्यार्थीहरूको आकर्षण उत्तिकै रहेको जनाउ दिंदै सिंहले भने, ‘शैक्षिक स्तरलाई अझै उच्च बनाइराख्न भइरहेका प्रयाससँगै विद्यार्थीको भविष्य कसरी समयानुकूल राम्रो हुँदै जान्छ भन्नेमा काम गरिरहेका छौं ।’