नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र महिला उद्यमी महासंघ नेपाल केन्द्रिय सदस्य शोभा ज्ञवालीले संयुक्त रुपमा प्रदर्शनीको उद्घाटन गर्नु भयो ।
नेपालगन्जको बागेश्वरी मन्दिर परिसरको चिल्ड्रेन पार्कमा सुरु भएको प्रदर्शनी फागुन १० गते सम्म चल्नेछ । प्रदर्शनीको उद्घाटन गर्दै नगर प्रमुख विष्टले स्थानीय दिदीबहिनीहरुले उत्पादन गरेको वस्तुलाई महिला उद्यमी संघ नेपाल बाँकेले उत्कृष्ट ढंगले प्रवद्र्धन गरिरहेको बताउनु भयो । उहाँले भन्नु भयो,‘सबै क्षेत्रमा महिलाहरुको सहभागिता भयो भने मात्र समाजले प्रगति गर्न सक्छ । महिलाहरुलाई यस्ता अवसर महत्वपुर्ण हुन्छन् । महिलाहरुलाई उद्यमी बनाउने कार्यमा हामी सधै सकारात्मक भएर सहकार्य गर्न तयारी छ ।’
महिला उद्यमी महासंघ नेपालको केन्द्रिय अध्यक्ष शोभा ज्ञवालीले विन बाँकेले सधै नमुना काम गर्ने गरेको बताउनु भयो । उहाँले भन्नु भयो,‘विनको इतिहासमा बाँकेको बेग्लै योगदान छ । महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुलाई हामीले अन्तराष्ट्रिय स्तरमा लग्ने काम सुरु गरेका छौं । महिला उद्यममा सक्षम हुनु भनेको देशको आर्थिक विकासको आधार बलियो हुनु हो । देशको विकासमा स–साना उद्योगको महत्वपुर्ण योगदान छ ।’
विन बाँके अब युवा अवस्थामा पुगेको विन लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले बताउनु भयो । उहाँले भन्नु भयो,‘हामीले थोरै बजेटबाट यो प्रदर्शनीको सुरुआत गरेका थियौं । सुरुआतमा सात वटा स्टलबाट सुरु भएको हो । अहिले लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा पुगेको छ । यसलाई अझ सशक्त बनाउन हामीले सबैले मिहिनेत गर्नु पर्छ ।’
गाउँ तथा सहरमा भएका महिलाहरुलाई आफनो सिप, क्षमता र स्थानीय वस्तुको प्रयोग गर्दै उद्यमशील बनाउने लक्ष्य सहित यो प्रदर्शनीको आयोजना गरिएको महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा पोखरेल बस्नेतले बताउनु भयो । उहाँले भन्नु भयो, ‘ यो प्रदर्शनीले घरमा बसेका दिदीबहिनीहरुलाई उद्यमशिलतामा जोडने काम गरिरहेको छ । उहाँहरुले उत्पादन गरेका वस्तु तथा उत्पादनहरुको प्रवद्र्धन र बजारीकरणको काम गरेको छ । यसलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद ।’
उद्घाटन समारोहमा कोहलपुर नगरपालिका उप–प्रमुख संगीता सुवेदी, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, नेपालगन्ज उप–महानगरपालिका निवर्तमान उप–प्रमुख उमा थापा मगर लगायतले प्रदर्शनीको सफलताको शुभमकामना दिनु भएको थियो ।
मंगलबार देखि सुरु भएको प्रदर्शनीको नवौं संस्करणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्युठान, रोल्पा, पुर्वी रुकुम, सल्यान लगायतका जिल्लाहरुबाट आउनु भएका महिला उद्यमीहरुले आफनो उत्पादन प्रदर्शनीमा राखिएको नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी–२०८१ को संयोजक एवम् तथा महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष रेवती सिंहले बताउनु भयो । उहाँले भन्नु भयो,‘महिला उद्यमीलाई प्रतिस्पर्धाको बजारमा सशक्त बनाउन यो प्रदर्शनीले सहयोग गर्ने गरेको छ । स्थानीय उत्पादन, सीप र जनशंक्तिको प्रयोग गरेर युवाहरुलाई देशमै काम गर्ने वातावरण बनाउनु पर्छ ।’
प्रदर्शनीको मुख्य प्रायोजक केएल दुगर्ड ग्रुपका क्षेत्रीय निर्देशक प्रदिप छाजेडले महिलाहरुको उत्पादनलाई गुणस्तरीय बनाउन यस्ता प्रदर्शनी महत्वपुर्ण सावित हुने बताउनु भयो । उद्योगका बारेमा नीतिगत रुपमा पनि महिलारुलाई जानकारी गराउनु पर्ने उहाँले बताउनु भयो ।
प्रदर्शनीमा करिब ६० वटा स्टलमा १ सय ५० भन्दा बढी उद्यमीहरुले आफनो उत्पादन राख्नेहुनेछ ।
प्रदर्शनी स्टलमा मस्यौरा, अल्लोबाट बनेको सामान, बेतको सामान, खुकुरी, भाँङ, स्थानीय उत्पादन बेसार, अचार, महँ, ह्याण्ड मेड जुत्ता, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान, तोरीका तेल, अण्डा लगायतका वस्तुहरु बिक्री वितरण तथा प्रवद्र्धन गरिनेछ ।
नेपालगन्ज उप–महानगरपालिकाको सहकार्यमा हुन लागेको नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको मुख्य प्रायोजकको रुपमा केएल दुगर्ड रहेको छ भने घरेलु तथा साना उद्योग विभाग बाँकेले सहयोग गरेको छ ।
प्रदर्शनीको दौरान फागुन ७ गते महिला उद्यमीहरुको समस्या, चुनौति र अवसरका बारेमा संवाद कार्यक्रमको आयोजना गर्ने भैरहेको आयोजकले बताएको छ ।
फागनु ८ गते युवा उद्यमशिलता र स्वरोजगार उत्प्रेरणा कार्यक्रम र फागुन ९ गते सफल महिला उद्यमीहरुको अनुभव आदानप्रदान र सम्मान कार्यक्रम आयोजना गरिने प्रदर्शनी संयोजक सिंहले बताउनु भयो ।