सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी राज्यको चरित्र अनुसार नेपाल टेलिभिजनले देश र जनताका लागि काम गर्न आवश्यक भएको बताउनुभएको छ ।
आज कोहलपुरमा सार्वजनिक सेवा प्रसारण नेपाल, ‘एनटिभी’ कोहलपुरको निरीक्षणपछि आयोजित छलफलमा उहाँले सार्वजनिक सेवा प्रसारणको पहिलो प्राथमिकता देश र जनता भएको उल्लेख गर्नुभयो । उहाँले विभिन्न भाषा, धर्म र संस्कृतिको जर्गेना हुने गरी कार्यक्रम सञ्चालन गर्न एनटिभी कोहलपुरलाई निर्देशन दिनुभयो ।
बदलिँदो परिस्थिति अनुसार प्रविधिमैत्री काम गर्न आग्रह गर्दै उहाँले सबै धर्म र संस्कृतिको संरक्षणमा जोड दिनुभयो । मन्त्री गुरुङले धार्मिक सहिष्णुता र जातीय सदभाव कायम गर्न आवश्यक भएकाले त्यस्ता विषयवस्तु छनोटमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले काम गर्ने शैली र विषयवस्तु छनोट गर्ने शैली बदल्न जरुरी छ ।” मन्त्री गुरुङ्ले भौतिक पूर्वाधारसँगै जनशक्तिको व्यवस्थापन आवश्यक भएको उल्लेख गर्दै एनटिभीलाई अझै सुधार गरेर लैजान आवश्यक भएको बताउनुभयो ।
सार्वजनिक सेवा प्रशारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले जनशक्ति छनोट समावेशीको सिद्धान्त अनुसार भएको जानकारी दिनुभयो । मन्त्री गुरुङले गोरखापत्र संस्थान, पश्चिम क्षेत्र प्रकाशन कार्यालयको समेत निरीक्षण गर्नुभयो । उहाँले गोरखापत्रको कामको प्रशंसा गर्दै सरकारी विज्ञापन गोरखापत्रमा प्रकाशन गर्नुपर्ने बताउनुभयो ।
गोरखापत्र प्रकाशनलाई समेत ‘पीएसबी’ ढाँचामा लैजान आवश्यक भएकामा जोड दिनुभयो । गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदी र महाप्रवन्धक लालबहादुर ऐरीले संस्थानका बिषयमा मन्त्री गुरुङलाई जानकारी गराउनुभएको थियो ।