बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले जिल्लामा शान्ति सुब्यवस्था कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेमा बाँकेका पत्रकारसँग भेटघाट कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक घर्तीले शान्ति, सुव्यवस्था कायम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
बाँके प्रहरी प्रमुख घर्ती मगरले शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न, अपराध रोकथाम तथा नियन्त्रण गर्न, दण्डहिनताको अन्त्य गर्न, मानव अधिकारको संरक्षण तथा संबद्र्धन गर्न प्रतिबद्ध रहेको बताए । उनले भने, ‘जिल्लाको समग्र शान्ति सुरक्षाको स्थिति मजबुत बनाउन तथा अपराध रोकथाम तथा नियन्त्रणका लागि पाएको जिम्मेवारी अदम्य साहसका साथ यहाँहरू (पत्रकार) को साथ लिएर अघि बढ्नेछु ।’ उनले मिडियासंगको सहकार्यलाई मजबुत बनाउँदै अघि बढने बताए ।
बाँके प्रहरी प्रमुख घर्तीमगरले पत्रकारले पाउने सुचनालाई छिटोछरिटो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने, ‘तत्कालै सूचना प्रवाह गर्ने व्यवस्था मिलाउँछौं तर प्रारम्भिक सूचना पनि भरपर्दो होस् भनेर केही ढिलाई हुनसक्छ ।’ उनले सुरक्षा संवेदनशिलता बाहेकका तत्कालै उपलब्ध गराउन सकिने सूचना छिटो उपलब्ध गराउन प्रहरी नायब उपरीक्षक समेत रहेका सूचना अधिकारी दिपक पातललाई निर्देशन समेत दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारलाई सहि सुचना छिटो, छरितो उपलब्ध गराउन प्रहरी प्रमुख घर्तीको ध्यानाकर्षणा गराएका थिए । महासंघ अध्यक्षले भने,‘पत्रकार र सुरक्षाकर्मी भनेका समाजिक दायित्व बोकेका जिम्मेवार निकायहरू हुन,पत्रकारको आफ्नो व्यवसायी धर्म हुने गर्दछ भने सुरक्षाकर्मीको आफ्नो अतः आफ्नो जिम्मेवारी निर्वाह गर्दा एकअर्काको साथसहयोग अपरिहार्य रहन्छ त्यसै अनुसार हामी हिड्नु पर्दछ ।’
परिचयतात्मक कार्यक्रममा उपस्थित पत्रकारहरूले बाँकेको सुरक्षा सम्बेदनशीलतालाई आत्मसाथ गरेर कार्य सम्पादन गर्न प्रहरी प्रमुखलाई सुझाव दिएका थिए । उपस्थित पत्रकारहरूले प्रहरी कार्यालय पीडित मैत्री नरहेको बताउँदै सबैको पहुँचको व्यवस्था गर्न समेत सुझाव दिएका थिए ।
पत्रकारसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक पातली सहित अन्य प्रहरी अधिकृतहरू, बाँकेमा कार्यरत विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार लगायतको उपस्थिति रहेको थियो ।