यातायात व्यवस्था कार्यालयले सेवा रोक्दा त्यसले सेवाग्राही तथा त्यस सेवासँग सम्बन्धित व्यक्तिहरू प्रभावित भएका छन् । यातायात व्यवसायीले प्राविधिक कारणका नाममा यातायात व्यवस्था कार्यालयले प्रदान गर्ने विभिन्न सेवा ठप्प भएको बताएका हुन् ।
यातायात व्यवस्था कार्यालय नेपालगन्जले गत जेठ १२ गते सूचना जारी गरेर प्राविधिक कारणले गर्दा अर्को सूचना जारी नभएसम्मका लागि भन्दै सवारी चालक अनुमति पत्र सम्बन्धी नविकरण, प्रतिलिपि र स्मार्ट कार्ड वितरण तथा सवारी सम्बन्धी ब्लुबुक नविकरण, प्रतिलिपि, रुट परमिट नविकरण (जाँचपास अवधी कायम रहेकाहरूको हकमा मात्र) बाहेक सम्पूर्ण सेवा बन्द रहेको सूचना जारी गरेको थियो ।
चालक अनुमति प्रदान गर्नेदेखि विभिन्न कारणले हुने घोटाला देखिरहेको उल्लेख गर्दै यातायात व्यवसायी मन प्रसाद आचार्यले १० दिनदेखि सेवा प्रभावित रहेको बताएका हुन् । ‘यसरी प्राविधिक कारण देखाउँदै यातायात व्यवस्था कार्यालय चुप लागेर बस्न पाउने कि नपाउने ?’, उनले भने, ‘आज हाम्रा सवारीको जाँचपासको अवधी सकिएको छ, परमिटको अवधी सकिएको छ, यदी त्यो नगरी सवारी गुड्यो भने त्यसले ल्याउने क्षतिका विषयमा यातायात कार्यालयले जवाफ दिने कि नदिने ?’
व्यवसायी आचार्यले यातायात व्यवस्था कार्यालय सुचारु हुनु पर्यो भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा समेत बताएको जानकारी दिए । ‘नागरिक र व्यवसायीको अधिकार प्रदान गर्नुपर्यो’, आचार्यले भने । यातायात व्यवसायीले सार्वजनिक यातायात नचल्दा मनपरी हवाई भाडा असुल हुने गरेको तथा एउटा कागज कम हुँदा ट्राफिकले कारवाही गर्ने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् ।