नेपालगन्ज फोटो फेस्टिवलको अवसरमा आह्वान गरिएको राष्ट्रिय फोटो प्रतिस्पर्धावाट शीर्ष ३१ फोटो `पिपुल्स च्वाइस अवार्ड ´कालागि चुनिएका छन्।
ईसेवासँगको सहकार्यमा सोमवार देखि अनलाइन भोटिङ खुला गरिएको छ। सवैभन्दा बढी भोट प्राप्त गर्ने फोटोले पिपुल्स च्वाइस अवार्ड जित्नेछ।
५० हजार १ सय ११ रुपैया नगद र प्रमाणपत्र सहित अवार्ड प्रदान गरिने फेस्टिवल आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताएका छन्।
शीर्ष ३१ मा अम्वीर तोलाङ, बबी साईं, तील थापा मगर , शंकर भुजेल, संजय महर्जन, अमित रावल, रोमिन थारु , आर्यन धिमाल, विजय थापा , तिलक गाहा मगर, भूवन श्रेष्ठ, दिलचन पून,हिमाल गैरे ,जीवन लामा,केशव न्याैपाने, रामु वली, ब्रम्ह बुढा, मनोज पौडेल,शंकर भुजेल, मैत्या घर्ती मगर र विनय रावलको फोटोहरु चुनिएका छन्।
फोटो प्रतिस्पर्धामा देशभरवाट फोटोहरु सहभागी गराईएको थियो।
बरिष्ठ फोटो पत्रकार विकास कार्की संयोजक , बरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक समितिले १ सय ११ फोटो छनौट गरिसकेको छ। ९ वटा विधाको उत्कृष्टले नगद ५ हजार सहित प्रमाणपत्र पाउने छन् भने सर्वोत्कृष्ट फोटोले `फोटो अफ द इएर´ अवार्ड पाउनेछ। ५१ हजार १ सय ११ रुपैयाँ नगद सहित अवार्ड प्रदान गरिनेछ।
यसै महिनाको अन्तिम साता नेपालगन्जमा आयोजना गरिने फेसटिवलमा यी फोटोहरु प्रदर्शनीमा राखिनेछ। त्यसपछि राजधानी काठमाडौंको नेपाल आर्ट ग्यालरी मा २ दिने प्रदर्शनी गरेर नेपाल फोटो टुरको शुभारम्भ गरिनेछ। टुर सातै प्रदेश पुग्नेछ।