‘नेपालगन्ज औद्योगिक क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुलेको छ, संघका अध्यक्ष अब्दूल वाहिद अन्सारी भन्छन्, ‘संघलाई जग्गा हस्तान्तरण भएकाले अब भवन निर्माणको काम अघि बढ्छ ।’
नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघले आफ्नै घर बनाउने भएको छ । संघलाई भवन निर्माणका लागि नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपालगन्ज शाखाले ०.६६ रोपनी जग्गा प्रदान गरेपछि घर बनाउने काम अगाडी बढ्ने भएको हो ।
‘उक्त ऐतिहासिक सहकार्यको औपचारिक थालनी भएको छ,’ विहिवार नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँगको औपचारिक सम्झौतासँगै औद्योगिक समुदायमा नयाँ उत्साह थपिएको प्रतिक्रिया दिंदै अध्यक्ष अन्सारीले दैनिक नेपालगन्जसँग भने ।
संस्थागत सहकार्यको उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै व्यवस्थापन कार्यालय प्रमुख प्रदीप पराजुलीले संघसँगको सहकार्यलाई थप सशक्त बनाउँदै संघीय गतिविधिहरू सञ्चालन गर्न छिटोभन्दा छिटो भवन निर्माण सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरेको संघका सचिव शरद रिजाले बताए । पराजुलीले उद्योगी र व्यवस्थापनबीच आपसी समन्वय र विश्वास आवश्यक रहेको उल्लेख गर्दै दीर्घकालीन समृद्धिको बाटोमा सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखेका थिए ।
संघका अध्यक्ष अन्सारीले अध्यक्षको रूपमा नेतृत्व सम्हालिरहँदा भवन निर्माणको प्राथमिकतालाई प्रतिबद्धताका रुपमा व्यक्त गरेका थिए । ‘जग्गा सम्झौता हाम्रो दीर्घकालीन रणनीतिक लक्ष्यको पहिलो पाइला हो, छिट्टै हामी भवन निर्माण कार्य सुरु गर्दैछौं,’ अन्सारीले भवन निर्माणका लागि स्रोत समेत पहिचान भइसकेको बताए ।
संघले उद्योगी समुदायको साझा हितमा एकता, सहभागिता र दीर्घकालीन विकासलाई प्राथमिकतामा राखेर योजनाहरू कार्यान्वयन गर्दै जाने अध्यक्ष अन्सारीको भनाइ छ ।
‘यो सम्झौताले नेपालगन्ज औद्योगिक क्षेत्रमा व्यवस्थापन र उद्यमशीलताबीचको समन्वयलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ,’ अध्यक्ष अन्सारीले भने, ‘जसले स्थानीय उद्योगहरूको दिगो विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।’