विगतका वर्षहरूझैँ यस वर्ष पनि महिलाहरूका लागि ‘मेहेन्दीमा सजिएर श्रावण मनाऔं’ भन्ने मूल नाराका साथ भरोसा मेहेन्दी उत्सव २०८२ आयोजना हुने भएको छ ।
भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नेपालगन्ज, बाँकेको आयोजनामा वर्षेनी आयोजना गरिंदै आएको यो उत्सव तेस्रो संस्करण हो । आज श्रावण १ गतेबाट शुरु भई श्रावण ८ गतेसम्म चल्ने यो उत्सवमा महिलाहरुका लागि विशेषगरि सहकारी सचेतना देखि वित्तीय साक्षरतासँगै मेहन्दीकलाको निःशुल्क सेवा उपलब्ध गराइने गरिएको संस्थाले जनाएको छ ।
‘यो आफैमा महिला एकता र सुदृढिकरणको अवसर पनि हो,’ संस्थाले ‘सबै र सधैंभरीका लागि भरोसा’ भन्ने आफ्नो मूल मर्मलाई आत्मसात् गर्दै यो उत्सवको आयोजना गरेको जानकारी दिंदै भरोसा सहकारीका सिइओ तेजबहादुर रावलले दैनिक नेपालगन्जसंग भने । ‘हामीले विभिन्न क्षेत्रका अगुवा महिलाहरुलाई एकै ठाउँमा राखेर आपसी सम्बन्ध विस्तार, आर्थिक सशक्तिकरणका अन्तक्र्रिया र मेहन्दी लगाएर रमाउने वातावरणमा सहजीकरण गरिरहेका छौं,’ सिइओ रावलको भनाइ छ ।
भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भरोसा मेहेन्दी उत्सवको पहिलो र दोस्रो संस्करणमा ५ सयबढीले उत्साहजनक सहभागिता जनाएको जानकारी दिंदै सहभागीलाई संस्थाले उपहारमार्फत खुशी बाढ्ने गरेको पनि जनाएको छ । ‘महिलाका लागि आर्थिक भरोसाको विकास उत्तिकै आवश्यकता छ,’ सिइओ रावलले त्यसका लागि भरोसा मेहेन्दी उत्सवमार्फत सचेतना फैलाउन खोजिएको जानकारी दिंदै भने, ‘बचत देखि उद्यमशीलतासम्मका वित्तीय साक्षरतामा यो उत्सवले सहजीकरण गर्दै आएको छ ।’