नेपालगन्ज भन्सार कार्यालयले राजश्व बढाउन सफल भएको छ । आर्थिक वर्ष २०८०÷८१ के तुलनामा दुई अर्ब बढी संकलन भएको भन्सार कार्यालयले जनाएको हो ।
आर्थिक वर्ष २०८१÷८२ मा २० अर्ब बढी राजश्व संकलन गरेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले गत आवमा २० अर्ब २८ करोड ५१ लाख ८१ हजार रुपियाँ राजश्व संकलन भएको जानकारी दिएका हुन् । उनका अनुसार, यो लक्ष्य नजिकैको उपलब्धी हो ।
भन्सारले दिएको तथ्यांक अनुसार, आव २०८०÷८१ मा १८ अर्व १५ करोड ७२ लाख ३३ हजार रुपियाँ मात्रै राजश्व संकलन भएको थियो । आव २०८०÷८१ भन्दा २०८१÷८२ मा दुई अर्ब १२ करोड रुपियाँ बढी राजश्व संकलन भएको हो । गत आव २०८१÷८२ मा २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार रुपियाँ राजश्व संकलनको लक्ष्य तोकिएकोमा प्रारम्भिक विवरण अनुसार ७४.६३ प्रतिशत राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
नेपालगन्जमा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि लागत बढेको भन्दै केही मालबाहक ट्रक लगायतका सवारी साधनहरूले नाका परिवर्तन गरेपछि राजश्व सङ्कलन लक्ष्य अनुसार सङ्कलन हुन नसकेको लगायतका विभिन्न कारणले राजश्व लक्ष्य अनुसार सङ्कलन हुन नसकेको कार्यालयले जनाएको छ ।
नेपालगन्ज भन्सार कार्यालयमा संकलन हुने राजश्वको करिब ५० प्रतिशत रकम पेट्रोलियम पदार्थको आयातबाट मात्रै हुने गरेको छ । इन्धन, चामल, खाद्यान्न, फलाम लगायतका वस्तुको आयातबाट बढी राजश्व संकलन हुने गरेको भन्सार कार्यालयको तथ्याङ्क छ ।