भारतीय सुरक्षा अधिकारीहरुले नेपालसँग जोडिएको सीमा नाकाको सुरक्षा अवस्थाको जायजा लिएका छन् । आसन्न चाडपर्वलाई ध्यानमा राखेर कानून तथा शान्ति व्यवस्था कायम राख्न जिल्लाधिकारीसहितका सुरक्षा अधिकारीहरुले मंगलवार नाकाको स्थलगत जायजा लिएका हुन् ।
भारतीय पत्रकार सन्तोष शुक्लका अनुसार, बहराइचका जिल्लाधिकारी अक्षय त्रिपाठी र प्रहरी उपरीक्षक रामनयन सिंहसहितको सुरक्षा अधिकारी टोलीले नेपालगन्ज, जमुनाह– रुपैडिया क्षेत्रको भ्रमण गरे । ‘सबैभन्दा पहिले, डीएम र एसपीले रुपैडिया प्रहरी चौकीमा पुगेर प्रतिष्ठित व्यक्ति र सञ्चारकर्मीसँग भेट गरी यस क्षेत्रको गतिविधिबारे जानकारी लिनुभयो,’ पत्रकार शुक्लले दैनिक नेपालगन्जसँग भने ।
पत्रकार शुक्लका अनुसार, डीएम र एसपीले सबै सम्बन्धितलाई आगामी चाडपर्वमा साम्प्रदायिक सद्भाव कायम राख्न जिल्ला प्रशासनलाई सहयोग गर्न अपील गरेका छन् । ‘त्यसपछि डीएम र एसपीले सुरक्षा बलसहित नेपालसँग जोडिएको भारतीय सीमाको प्रवेशद्वारसम्म रुट मार्च गर्नुभयो,’ उनले भने ।
त्यसक्रममा डीएम र एसपीले एसएसबी चेकपोस्ट नजिकै स्वास्थ्य विभागले हात्तीपाइले रोग निवारणका लागि सामूहिक औषधि सेवनका लागि राखिएको स्टलको निरीक्षण गरेका थिए ।
अधिकारीहरुको टोलीमा नानपाराका उप–जिल्लाधिकारी लालधर यादव, प्रहरी अञ्चल अधिकारी प्रद्युम्न सिंह, एसएसबीका उप–कमाण्डेन्ट दिलीप यादव, थाना अध्यक्ष रमेश सिंह रावत लगायत अन्य सम्बन्धित अधिकारी सहभागी थिए ।