सुलभ र आयुषप्रति भावविव्हल सहर
जेन–जी आन्दोलनको क्रममा राजधानी काठमाडौंमा प्रहरीको गोली लागी ज्यान गुमाएका नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीका दुई होनहार युवा, २३ वर्षीय सुलभराज श्रेष्ठ र १९ वर्षीय आयुष थापाको पार्थिव शरीर शुक्रबार नेपालगन्ज ल्याइएपछि सहर शोकमा डुबेको छ ।
बुद्ध एयरको चार्टर्ड जहाजमार्फत नेपालगन्ज ल्याइएका शुलभको शवलाई अन्त्येष्टि अघि नगर परिक्रमा गराइएको थियो । सडकभरि ठुलो संख्यामा भेला भएका नागरिकले फूलमाला चढाउँदै, आँसुमा डुब्दै अन्तिम विदाई गरेका थिए । घर आँगनदेखि गल्लीसम्म मान्छे भरिएका थिए, सहरले आफ्नै छोरालाई गुमाएको पीडा छताछुल्ल भएको थियो ।
स्व.सुलभराजको पार्थिव शरीरलाई शुक्रबार नै राप्ती नदीस्थित सिधनिया घाटमा अन्त्येष्टि गरियो । सयौँको भिडबीच बुवा नरेन्द्रराज श्रेष्ठसहित शोकाकुल परिवारले मुखाग्नि दियो । स्व.आयुष थापाको शव भने भेरी अस्पतालमा राखिएको छ, उनको अन्त्येष्टि शनिबार हुने परिवारले जनाएको छ ।
फिनल्यान्ड जाने तयारीमा भर्खरै काठमाडौं पुगेका आयुष र कान्तिपुर इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ अध्ययनरत सुलभराज दुबैको असामयिक निधनले वडालाई मात्र होइन, सिंगो नेपालगन्जलाई नै स्तब्ध बनाएको छ । शुलभको दाहसंस्कारका क्रममा सिधनियाघाट पुगेका वडाध्यक्ष प्रमोद रिजालले भने, ‘वडाका दुई उज्ज्वल भविष्य भएका युवालाई गुमाउनुपरेको छ, यो वडाको मात्र होइन, सिंगो समाजकै ठूलो क्षति हो ।’
पाँच दिनदेखि छोराको शव पर्खिरहेको परिवारलाई जब जहाजबाट शव ओर्लाइयो, आकाशसमेत रोएको जस्तो लाग्थ्यो । आमाको करुण रुदनले उपस्थित जो–कोहीको आँसु थामिएन । साथीहरू, आफन्त, छिमेकी—सबैका आँखामा एउटै पीडा थियो, ‘सपना बोकेका होनहार युवालाई आन्दोलनले किन कस्तो बलिदान माग्यो ?’
दाहसंस्कारमा पुगेकाहरु भन्छन्, ‘नेपालगन्जले आज आफ्ना छोरालाई गुमाएको छ, तर उनीहरूको सम्झना र बलिदानले यो आन्दोलनको कथा कहिल्यै बिर्सन दिनेछैन ।’






























