बाँकेमा प्रहरी कमान्ड सम्हालेका एसपी अंगूर जीसीले पदभार सम्हाल्नासाथ नेपालगञ्जमा चल्दै आएका गैरकानुनी धन्दा र अपराध सञ्जाल विरुद्ध कठोर अभियान थालेका छन्।
साउन २३ गते होटल मौरीमा जुवा खेलिरहेका १४ जना पक्राउ परेका थिए। त्यसको केही सातामै, जीसीको नेतृत्वमा प्रहरीले नेपालगञ्जका चर्चित होटलहरू — मिलन कटेज, रिभर साइड होटल र भेरी कर्णाली होटलमा एकैपटक विशेष अपरेसन सञ्चालन गर्दै ठूलो सफलता हात पारेको छ।
स्रोतका अनुसार, उक्त छापामा ३१ जना महिला र १४ जना पुरुष गरी ४५ जना व्यक्ति नियन्त्रणमा लिइएका छन्।
पक्राउ पर्नेहरूमध्ये धेरैजसो पुरुष भारतीय नागरिक रहेको बताइएको छ, जसले नेपालगञ्जलाई सीमावर्ती ‘हब’ का रूपमा प्रयोग गरिरहेको आशंका गरिएको छ।
प्रहरीले घटनास्थलबाट विभिन्न प्रमाण सङ्कलन गरेको र पक्राउ परेकामाथि अनुसन्धान अघि बढाइरहेको छ।
यो कार्यवाहीले लामो समयदेखि मौलाइरहेको जुवा, यौन धन्दा र अवैध कारोबारमा ठोस चोट पुर्याएको बताइन्छ।
स्थानीयबासीले यस कदमलाई “शहर शुद्धीकरण अभियान” को रूपमा लिएका छन्।
एक स्थानीयले भने, “पहिले यस्ता कामहरू खुलेआम चल्थे, तर अहिले प्रहरीले देखाएको दृढताले अपराधीहरू त्रसित भएका छन्।”
एसपी जीसीको नेतृत्वमा बाँके प्रहरीको यो पहलले सुरक्षा निकायप्रतिको जनविश्वास बढाएको छ र आगामी दिनमा पनि यस किसिमको निरन्तरता रहोस् भन्ने माग बढेको छ।