नेपालगन्जस्थित वेस्टर्न मार्ट अगाडि आज दिउँसो भारतीय नम्बर प्लेट UP 42 AH 6701 भएको गाडीले लु 03 001 प नम्बरको स्कुटरलाई ठक्कर दिएको छ।
प्रत्यक्षदर्शी रितु रिजालका अनुसार, ठक्कर दिएपछि गाडी चालक फरार हुन खोजेका थिए तर आसपासका नागरिकले तत्काल समातेका हुन्। त्यसपछि घटनास्थलमा केहीबेर तनावपूर्ण अवस्था समेत सिर्जना भएको थियो।
घटनापछि स्थानीयले गाडी चालकलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए। नेपालगन्ज प्रहरीले दुबै पक्षलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
पछिल्लो समय नेपालगन्जमा भारतीय नम्बर प्लेटका सवारीसाधनले ट्राफिक नियम उल्लङ्घन गर्ने, ठक्कर दिने र दुर्घटनामा संलग्न हुने घटना बढ्दै गइरहेको छ। स्थानीयवासीले रातमा मात्र हुने प्रहरी चेकजाँच पर्याप्त नभएको भन्दै दिनमा समेत कडाइ गर्न माग गरेका छन्।
“दिउँसो यस्ता दुर्घटना भइरहेका छन्, प्रहरीको निगरानी अझ कडा हुनुपर्छ,” प्रत्यक्षदर्शी रितु रिजालले बताइन्।
चाडपर्वको बेला सवारीसाधनको चाप बढेकाले ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने स्थानीयवासीको सुझाव छ। पछिल्ला यस्ता घटनाले नेपालगन्जवासीमा चिन्ता र आक्रोश दुवै बढाएको छ।


