सरकारले लागु गरेको स्वास्थ्य बीमा कार्यक्रमले नागरिक लाभान्वित भएपनि बीमाबाट गरिएको उपचार शुल्क सम्बन्धित अस्पतालमा समयमै नहुँदा स्वास्थ्य बीमाको सेवा दिने अस्पतालहरू आर्थिक संकटमा परेका छन् ।
स्वास्थ्य बीमा सेवा दिएका अस्पतालहरूले बीमा अन्तर्गत गरेको उपचारको भुक्तानी नपाउँदा विगतमा कतिपय अस्पतालले बीमा सेवा कार्यक्रम नै रोकेका थिए । अहिले पनि बीमा वापतको नपाउँदा अस्पताल आर्थिक संकट झेलिरहेका छन् । सेवाग्रहीले समेत कतिपय औषधी नपाउने तथा उपचारमा ढिलाई हुने गरेको गुनासो गर्दै आएका छन् । अस्पतालमा चाप बढ्दा प्राविधिक परीक्षण सोही दिन हुन नसक्ने अवस्था रहेको पाइन्छ ।
‘बिरामी छिटो उपचार चाहन्छ तर अस्पतालमा बढेको चाप र पूर्वाधारको कमीका कारण निकै कुर्नुपर्ने अवस्था छ’, भेरी अस्पताल नेपालगन्जमा एक्सरे गर्न नै एकदिन कुर्नुपरेको सुनाउँदै एक बिरामीले भने, ‘अर्को दिन सम्बन्धित ओपिडि बन्द हुँदा आएको रिपोर्ट समेत समयमै देखाउन सक्ने अवस्था छैन ।’ ‘सरकारले सरकारी अस्पताललाई बिरामीको चाप अनुसार जनशक्ति र पूर्वाधारको व्यवस्था नगर्दा बिरामीहरू सके निजी अस्पताल नभएर कुर्नुपर्ने अवस्था छ’, बिरामी भन्छन् ।
पछिल्लो समय सरकारले देशभर जुनसुकै ठाउँमा रहेका स्वास्थ्य बिमितिले प्रथम सेवा बिन्दुबाट सेवा लिन पाउने व्यवस्था गरेपछि प्रथम सेवा बिन्दु भएका सुविधा सम्पन्न अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । त्यसैले पनि भेरी अस्पताल नेपालगन्जमा बिरामीको चाप बढ्दै गएको पाइन्छ । भेरी अस्पताल नेपालगन्जले स्वास्थ्य बिमाका बिरामीहरूको पर्चा तथा अन्य परीक्षणको बिलिङ्गका लागि छुट्टै काउन्टर नै व्यवस्था गरेको छ ।
‘स्वास्थ्य बीमा वापतको रकम नआउँदा अस्पताल सञ्चालनमा समस्या भैरहेको छ’, भेरी अस्पताल नेपालगन्ज व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले भने, ‘लामो समयदेखि बीमाको रकम नआउँदा समस्या छ ।’
भेरी अस्पताल नेपालगन्जले सरकारले दिने विभिन्न स्वास्थ्य योजनाहरू छुट तथा निःशुल्क रूपमा सञ्चालन गर्र्दै आएको छ । सरकारी अस्पताल भएकाले आउने बिरामीले उपलब्ध सेवा दिन्न भन्न नमिल्ने र सेवा दिन निकै समस्या भैरहेको अस्पतालका अधिकारीहरू बताउँछन् । भेरी अस्पताल नेपालगन्जले स्वास्थ्य बीमा र सामाजिक सेवा इकाइ मार्फतको गरी करिब २० करोड रूपैयाँ भुक्तानी पाउन बाँकी रहेको थियो । ‘नियमित भुक्तानी प्राप्त हुँदा समस्या हुँदैन, आंशिक र भुक्तानी ढिलाईले सप्लायर्सहरूलाई औषधी, उपकरण व्यवस्थापनमा समस्या हुँदा त्यसको मार बिरामीलाई पर्न सक्छ’, अस्पताल सम्बद्ध बताउँछन् ।
स्वास्थ्य बीमा गर्ने बढे
बाँकेमा स्वास्थ्य बिमा गर्नेहरूको संख्या त्रमशः बढ्दै गएको छ । स्वास्थ्य बीमा बोर्ड नेपालगन्ज कार्यालयका दर्ता अधिकारी रमेश आचार्यले बाँकेमा स्वास्थ बिमा गर्ने परिवारको संख्या ४० हजार नाघि सकेको जानकारी दिएका छन् ।
‘हाल स्वास्थ्य बिमा गर्ने परिवारको संख्या ४० हजार २ सय १२ र बिमितको संख्या ९८ हजार ९ सय ४६ पुगेको छ’, दर्ता अधिकारी आचार्यले भने । उनले बीमा गर्नेहरूले भने औषधी तथा अन्य सेवामा भेदभावको गुनासो गर्दै सम्पर्क गर्ने गरेको बताए ।
स्वास्थ्य बीमाका लागि प्रत्येक वडामा वडा अध्यक्षको संयोजकत्वमा ती जनाको समिति रहेको र एक जना दर्ता सहयोगी समेत रहने गरेका छन् । दर्ता अधिकारी आचार्यले जिल्लाका विभिन्न पालिकामा प्रथम सेवा केन्द्र तथा रेफरल अस्पताल रहेको जानकारी दिएका छन् ।