गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलन पछि जननिर्वाचित सरकार ढल्यो । आन्दोलनको बलमा सुशिला कार्की प्रधानमन्त्री बनिन् । उनले निर्वाचित प्रतिनिधिसभा विघटनको सिफारिस गरिन् र राष्ट्रपति रामचन्द्र पौडेलले त्यसलाई सदर गरे । वर्तमान सरकारले नयाँ निर्वाचनको घोषणा गरिसकेको छ । र, निर्वाचन तालिका पनि सार्वजनिक भैसकेको छ । यद्यपि, प्रतिनिधिसभा विघटन विरुद्ध रिट दायर हुने क्रम जारी रहेको छ भने यसअघि जस्तो निर्वाचन घोषणा पछि स्थानीय स्तरमा हुने राजनीतिक चहलपहल यसपटक देखिएको छैन ।
जेनजी आन्दोलनका क्रममा निशानामा परेका काँगे्रस र एमालेले अझै पनि ठोस रूपमा निर्वाचन स्वीकारेर अघि बढ्ने निर्णय गरिसकेको छैनन् । ठूला राजनीतिक दल भित्र जेनजीको आन्दोलनपछि नेतृत्व परिवर्तनको माग र त्यसका लागि दबाब बढाउँदै प्रक्रिया थालिसकिएको छ । कतिपय राजनीतिक दलमा नेतृत्व परिवर्तनका लागि महाधिवेशन र निर्वाचन सँगसँगै अगाडि बढाउनु पर्ने माग चर्को रूपमा उठिरहेको छ ।
आगामी फागुन २१ गते निर्वाचन घोषणा भएपछि दलहरूमा महाधिवेशनको दबाब बढेको हो । नियमित समयमा निर्वाचन भएको भए दलहरूलाई महाविधेशनको दबाब पर्दैनथ्यो होला ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका राजनीतिक दलहरू एक वर्षभित्र महाधिवेशन गर्नुपर्ने बाध्यतामा थिए । तर २०८४ मंसिरसम्म कार्यकाल रहेको प्रतिनिधिसभा विघटन भएर दुई वर्षअघि नै मध्यावधि निर्वाचन घोषणा भएपछि दलहरूलाई त्यसअघि नै महाधिवेशन गर्ने दबावमा परेको राजनीतिक विश्लेषक बताउँछन् ।
नेपाली काँग्रेसमा ५० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर गरेर पार्टी नेतृत्वलाई बुझाइ सकेका छन् । कांग्रेसको विधानअनुसार ४० प्रतिशतभन्दा धेरै महाधिवेशन प्रतिनिधिहरूले माग गरेको अवस्थामा तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्छ । अब नेपाली काँग्रेसले तीन महिना भित्र महाधिवेशन गर्नुपर्ने बाध्यता रहेको छ ।
नेकपा एमालेमा पनि महाधिवेशनको माग उठेको छ । पार्टी नेतृत्व, नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले आगामी कार्तिक २७ देखि २९ सम्म प्रस्ताव गरेका छन् । एमालेको केन्द्रीय समिति बैठक चलिरहेकाले केन्द्रीय समितिको बैठक सकिएपछि त्यसबारे निर्णय आउने एमाले नेताहरू बताउँछन् ।
नेकपा माओवादी केन्द्रले भने दशैँअघि नै मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
रास्वपाका सभापति रवि लामिछाने हाल सहकारीको रकम अपचलन मुद्दामा कारागारमा छन् । उक्त पार्टीमा पनि विगतदेखि उठेको महाधिवेशनको माग जेनजीको आन्दोलन पछि बलियो रूपमा अघि बढेको छ । यसअघि फागुनमा महाधिवेशन गर्ने निर्णय गरेको रास्वपाले फागुनमै मध्यावधि निर्वाचन घोषणा भएका कारण त्यसपछि मात्रै महाधिवेशन गर्नेबारे छलफल गरिरहेको छ । यद्यपि, आगामी कार्तिक १४ र १५ गते हुने विस्तारित बैठकले त्यसबारे निर्णय लिने नेता सन्तोष परियारले सञ्चार माध्यमलाई बताएका छन् ।
रास्वपाजस्तै अघिल्लो चुनावबाट मात्रै पहिलो पटक संसद्मा पुगेका अरू दुई दलमा पनि जेन जी प्रदर्शनपछि हलचल देखिएको छ । सीके राउत नेतृत्वको जनमत पार्टी विभाजित भएको छ । त्यस्तै रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीबाट चौधरी आफैँ बाहिरिएका छन् ।
राजनीतिक दलको केन्द्रमा महाधिवेशन र निर्वाचनको हलचल भैरहँदा भने बाँकमा रहेका राजनीतिक दलहरू भने केन्द्रीय निर्णय पर्खेर बसेका छन् । महाधिवेशन र निर्वाचनको तयारीका लागि स्पष्ट निर्देशन नहुँदा जिल्ला स्थित राजनीतिक दलहरूहरू आन्तरिक तयारीमा रहेको बताएपनि उनीहरू निर्वाचनका लागि न त जनतामाझ पुगेको पाइन्छ न अधिवेशनका लागि जिल्लामा गरिनु पर्ने तयारीमा छन् ।
पार्टी निर्माणमा छौं ः नेकपा एमाले बाँके
नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले जिल्ला कमिटि अहिले पार्टी संगठन निर्माणमा सक्रिय रहेको बताउँछन् । ‘आन्दोलनका क्रममा ध्वस्त बनाइएको पार्टी कार्यालय पूवर्वत निर्माण र संगठन बलियो बनाउने तर्फ केन्द्रीत छौं’, उनले भने ।
नेकपा एमाले बाँकेका अध्यक्ष गुरुङ्गले केन्द्रीय कमिटिको बैठक चलिरहेकाले त्यसपछि कसरी अगाडि बढ्ने भन्ने निर्देशन आएपछि सोही अनुसार अगाडि बढ्न हामीहरू तयार रहेको बताएका छन् । ‘महाधिवेशन हुन्छ नै’, अध्यक्ष गुरुङ्गले भने, ‘संगठन बनाइरहेका छौं, निर्वाचन तयारीको निर्देशन आए जिल्ला कमिटि त्यसका लागि पनि तयार छ ।’
‘मतदाता नामावलीमा केन्द्रित छौं’
नेपाली काँग्रेस बाँकेका सभापति नारायण गौडेलले मतदाता नामावली खुला गरिएकाले त्यसका लागि योग्यहरूलाई मतदाता नामावलीमा दर्तासम्म पुर्याउन वडा कमिटिसम्मलाई निर्देशन दिएको बताउँछन् । ‘केन्द्रबाट त्यसखालको निर्देशन छ, हामी मतदाता नामावली दर्ता गराउन नागरिक पुगुन् भनेर वडातहसम्म सहजीकरण गर्न निर्देशन दिएका छौं’, उनले भने ।
सभापति गौडेलले वडातह सम्म संगठन सक्रिय पारेको जानकारी दिंदै पार्टी केन्द्रबाट निर्देशन आएपछि सोही अनुसार अघि बढ्ने बताए । ‘निर्वाचन, अधिवेशनका विषयमा पार्टी केन्द्रमा छलफल बहस भैरहेको छ, हाल तिहार रहेकाले त्यसपछि पार्टी अझै सक्रिय हुनेछ’, उनले भने ।
अधिवशेन र चुनावको तयारी सँगसँगै
राप्रपाका केन्द्रीय सहमहामन्त्री ऋषिराज देवकोटाले अधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाउने बताएका छन् । ‘नियमित अधिवेशन नै मंसिरमा हुने हो, तर मिति फिक्स भएको छैन’, उनले भने, ‘निर्वाचनका सन्दर्भमा केन्द्रीय कार्यसम्पादन समितिको बुधबारको बैठकले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ ।’ केन्द्रको सर्कुलर स्थानीय स्तरसम्म आउने र पार्टी निर्वाचनमा होमिने उनले बताए । राप्रपाका सहमहामन्त्री देवकोटाले ठूला राजनीतिक दल निर्वाचनमा जान नचाहेको दाबी गर्दै त्यसले निर्धारित समयमा निर्वाचन हुनेमा आशंका समेत व्यक्त गरेका छन् । ‘जेनजीको आन्दोलनपछि परिस्थित फेरिएको छ, ठूला दलको जनआधार खस्किंदा यो वा त्यो बहानामा चुनाव हुन नदिनेमा उनीहरू लागिरहेको देखिन्छ’, नेता देवकोटाले दाबी गरे ।
त्यस्तै, नेकपा माओवादी केन्द्रले पनि पार्टीको महाधिवेशन र निर्वाचनलाई सँगसँगै अगाडि बढाउने बताएको छ । माओवादी केन्द्र जिल्ला समिति संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले पार्टी महाधिवेशन र निर्वाचनका लागि जिल्लामा तयार रहेको बताउँछन् । तिहार र छठ पर्व लगत्तै पार्टी थप सक्रिय हुने उनले बताए । ‘केन्द्रमा महाधिवेशन प्रतिनिधि छनोटका लागि विधि बनिरहेको छ, उक्त विधी प्राप्त भएपछि जिल्लामा प्रतिनिधि छनोटको काम अगाडि बढ्छ’, उनले भने ।