नेपालमा सन् २०१० मा नै राष्ट्रियस्तरमा कुष्ठरोग निवारण भइसकेको छ । देशमै कुष्ठरोग निवारण भएपनि त्यसको मापदण्ड अनुसार बाँकेलाई हेर्ने हो भने अझै कुष्ठरोगको जोखिम र जिल्लामा कुष्ठरोग निवारणमा समस्या रहेको छ ।
बाँकेमा कुष्ठरोग निवारणका लागि आइएनएफ बाँकेले सञ्चालन गरेको साइनिङ्ग अस्पतालको तथ्यांक अनुसार, चालु आर्थिक बर्षको ६ महिनामा मात्रै अस्पतालमा ८६ जनामा कुष्ठरोग पुष्टि भएको छ । अस्पतालमा बाँके भारत सहित नेपालका विभिन्न जिल्लाका बिरामी उपचारका लागि आउने गरेको छ ।
अस्पताल प्रमुख मंगल बहादुर थारुले आइतबार मनाइने विश्व कुष्ठरोग दिवसको सन्दर्भमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालमा चालु आ.व.मा पुष्टि भएका ८६ मध्ये ५७ पुरुष र २९ महिला रहेको जानकारी दिएका छन् । जसमा बाँकेका ३६, बर्दियाका १२, दैलेखका २, जाजरकोटका ५, दाङ्गका १, प्युठान १, रोल्पा १, सल्यानका १, रुकुमका ५, कैलाली ५ अछाम ३ र भारतीय नागरिक १४ जना भएको बताए ।
‘सीमावर्ती क्षेत्र भएकाले भारतबाट पनि छालाका बिरामीहरु उपचारका लागि आउँने गरेका छन्, चालु आ.व.मा भारतबाट उपचारका लागि आएका मध्ये १४ जनामा कुष्ठरोग पुष्टि भएको हो’, उनले भने ।
अस्पतालले चालु आ.व.मा ९ हजार ८ सय ३१ जनालाई बहिरंग सेवा दिएको थियो । ‘कुष्ठरोगी निदानको लागि ३ सय ४२ जनाको र अनुगमनको लागि १ सय ५६ जनाको छालाको स्मीयर जांच परिक्षण गर्दा निदानको लागी परिक्षण गरिएको ५६ जना नयाँ बिरामीमा स्मीयर जांच पोजिटिभ भेटिएको छ’, उनले भने ।
बाँकेमा आर्थिक बर्ष ०८१÷०८२ मा ९३ जना नयाँ कुष्ठरोगी फेला परेका थिए भने उक्त आ.व.को अन्त्यसम्म १ सय १६ जना कुष्ठरोगी उपचारमा रहेका थिए ।
नेपालमा कुष्ठरोगको प्रभाव दर उच्च रहेको देशहरू मध्य एक हो । हाल नेपालमा प्रति बर्ष सरदर २ हजार ५ सय जति नयाँ कुष्ठरोगी बिरामी पत्ता लाग्ने गर्दछन् ।
‘नेपालको ७ वटा प्रदेश मध्ये ३ वटा प्रदेशमा अझै पनि कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गर्न सकिएको छैन’, पत्रकार माझ राष्ट्रिय तथ्यांक राख्दै अस्पताल प्रमुख थारुले भने, ‘प्रदेश स्तरमै निवारणको अवस्था प्राप्त गर्न नसकेको प्रदेशहरू मध्य लम्बिनी प्रदेश पनि एक हो ।’
‘आ.व. ०८०–०८१ प्राप्त तथ्यांक अनुसार देशका १८ जिल्लाहरूमा कुष्ठरोगको प्रभाव दर प्रति दश हजार जनसंख्यामा १ भन्दा उच्च छ’, उनी भन्छन्, ‘यसले निवारण भैसकेको कुष्ठरोगमा जोखिम बढाएको छ ।’
यसबर्ष ७३औं विश्व कुष्ठरोग दिवस आगामी माघ ११ गते कुष्ठरोगको छ ओखती, सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती भन्ने नाराका साथ मनाइँदै छ ।
‘नेपाल कुष्ठरोगको उच्च प्रभाव दर भएको राष्ट्र रहि रहनु, कुष्ठरोग बिरामीहरूको संख्या उच्च रहनु, समुदाय स्तरमा कुष्ठरोग बारे जनचेतनाको स्तर अझै पनि बढन नसक्नु, कुष्ठरोग सम्बन्धि कार्यको लागि सरकारी स्तरबाट योजना तथा बजेट आवश्यकता अनुरूप विनियोजन हुन नसक्नु, विनियोजित बजेट तथा योजना समयमा कार्यानवयन हुन नसक्नु आदी विबिध समस्या तथा चुनौतीहरू विधमान रहेको छ’, अस्पताल प्रमुख थारुले भने ।
अस्पतालका प्रशासन प्रमुख नरेन्द्र साउदले सञ्चालन गरेको कार्यक्रममा बिएनएमटी नेपालका विवेचना पाण्डे, नेपाल पत्रकार महासंघ
बाँकेका अध्यक्ष नविन गिरी, नेपाल कुष्ठरोग निवारण संघका कार्यालय प्रमुख राम बहादुर चौधरी लगायतले बोलेका थिए ।































