आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाका उम्मेदवार दिपेन्द्र बिष्टले वडास्तरमै प्रचारप्रसार कार्यालय सञ्चालनमा ल्याउने भएको छ ।
त्यसका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नं. २२ पुरैनीमा आइतवार र वडा नम्बर ४ मा सोमवार वडास्तरीय प्रचार सचिवालय सञ्चालनमा ल्याइएको हो । ‘त्यसले वडा र टोलटोलमा चुनावी माहोल दिनानुदिन सकारात्मक बन्ने विश्वास गरिएको छ, युवा नेता विष्टले भने ।
प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट र समानुपातिक उम्मेदवार जामिया खातुनको उपस्थितिमा पुरैनीमा कार्यालय उद्घाटनपछि पार्टी तथा समर्थकहरुले निर्वाचन गतिविधिलाई तिब्रता दिएको उनको सचिवालयले जनाएको छ ।
उद्घाटन कार्यक्रममा समानुपातिक उम्मेदवार जामिया खातुन, निर्वाचन परिचालन समितिकी संयोजक पूर्णा कुमारी सुवेदी, नेपाली कम्युनिस्ट पार्टीका नेता, प्रदेश सदस्य रतन शाहीलगायत नेता–कार्यकर्ताले विष्टको समर्थनमा धारणा राखेका थिए ।
त्यस्तै सोमवार नेपालगन्ज–४ मा वडास्तरीय प्रचार कार्यालय उद्घाटन गरिएको छ । पार्टी नेतासमेत रहेका वडाध्यक्ष गोपाल पुनले सम्पर्क कार्यालय उद्घाटनसँगै आफ्नो वडामा चुनावी चहलपहल उल्लेख्य रूपमा बढेको बताए । ‘ प्रचार सक्रियताले स्थानीयस्तरमा दिपेन्द्र बिष्टप्रतिको विश्वास र समर्थन झन् बलियो बन्दै गएको छ,’ पुनले भने ।
कार्यक्रममा उम्मेदवार दिपेन्द्र बिष्टले विकास, रोजगारी र सुशासनलाई केन्द्रमा राखेर जनतासँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । ‘युवादेखि व्यवसायी र सर्वसाधारणसम्मका आवाजलाई नीति र कार्यक्रममार्फत सम्बोधन गरिनेछ’ उनले भने ‘समावेशी र व्यवहारिक राजनीतिको खाँचो रहेकाले भने मेरो भूमिका प्रखर रहनेछ ।’






























