भारत–नेपाल अन्तर्राष्ट्रिय सीमा क्षेत्रअन्तर्गत रूपईडीहा चेकपोस्टमा सुरक्षा निकायको सतर्कताका कारण मानव तस्करीको प्रयास विफल भएको छ । सशस्त्र सीमा बल (एसएसबी) को बीआईटी टोली र एन्टी ह्युमन ट्राफिकिङ युनिट देहात संस्थाकी निर्मलाको संयुक्त सक्रियतामा १५ वर्षीया नाबालिग नेपाली किशोरीलाई सकुशल उद्धार गरिएको हो । भारतीय प्रहरीका अनुसार, त्यस घटनामा संलग्न एक युवकलाई शंकाको आधारमा नियन्त्रणमा लिइएको छ ।
भारतीय पत्रकार सन्तोषकुमार शुक्लका अनुसार, सोमबार दिउँसो करिब १ः३० बजे नियमित जाँचका क्रममा चेकपोस्टमा एक किशोरीको गतिविधि शंकास्पद देखिएपछि सुरक्षा टोलीले सोधपुछ गरेको थियो । सघन अनुसन्धानपछि किशोरीले आफू नेपाल जुम्ला जिल्ला, चाना वडा नं.–१ निवासी १५ वर्षीया सीरू दमाई रहेको बताएकी थिइन् । ‘कागजात र बयानका आधारमा उनी नाबालिग रहेको पुष्टि भएपछि सुरक्षाकर्मीले घटनालाई गम्भीरतापूर्वक लिएका थिए,’ पत्रकार शुक्लले दैनिक नेपालगन्जसँग भने ।
किशोरीसँगै रहेका युवकले आफ्नो नाम साहिल कुरेशी (१९ वर्ष), खजुरा वडा नं.–७, बाँके निवासी भएको बताएका छन् । प्रहरीका अनुसार, सोधपुछका क्रममा उनले विवाह तथा रोजगारीको प्रलोभन देखाई किशोरीलाई भारत लैजान लागेको स्वीकार गरेका थिए । महिला प्रहरीको उपस्थितिमा बयान लिइएको थियो । भारतीय प्रहरी भन्छ, मानव तस्करीको आशंकामा कानुनी प्रक्रिया अघि बढाइएको हो ।
प्रहरीका अनुसार, सुरक्षा निकायले मोबाइलमार्फत किशोरीकी आमासँग सम्पर्क गर्दा उनी बिना जानकारी घरबाट निस्किएको जानकारी प्राप्त भएको थियो । पत्रकार शुक्लले दिएको जानकारी अनुसार, आवश्यक कानुनी प्रक्रिया पूरा गरी किशोरीलाई गैरसरकारी संस्था देहात इन्डिया, बहराइचको सहयोगमा नेपालस्थित संरक्षण गृहमा जिम्मा लगाइएको छ ।
भारतीय प्रहरी स्रोतका अनुसार, शंकास्पद युवकलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ । उक्त संयुक्त अभियानमा एसएसबी ४२औं वाहिनीको एन्टी ह्युमन ट्राफिकिङ टोली, महिला प्रहरी बल तथा सम्बन्धित सामाजिक संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको थियो । प्रशासनले सीमा क्षेत्रमा मानव तस्करी नियन्त्रणका लागि निगरानी तथा जाँच अभियान निरन्तर सञ्चालन भइरहने जनाएको छ ।































