रुक्मिणी शाहलाई सम्झिंदै ‘रुक्मिणी महिला सशक्तीकरण सम्मान–२०८२’
समाजसेवी तथा बास नेपालकी पूर्व केन्द्रीय सदस्य स्व.रुक्मिणी शाहको जन्मदिनको अवसरमा स्थापित ‘रुक्मिणी स्मृति अक्षयकोष’ मार्फत यस वर्षको रुक्मिणी महिला सशक्तीकरण सम्मान–२०८२ महिला जागृती सेल नेपालगञ्जकी अध्यक्ष लक्ष्मी श्रेष्ठलाई प्रदान गरिएको छ ।
सामाजिक सेवाको भावना बोकेर विगत तीन दशकदेखि महिला सशक्तीकरण, महिला हिंसा न्यूनीकरण र समुदायस्तरमा सचेतना अभियान सञ्चालन गर्दै आएकी श्रेष्ठलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।
कार्यक्रममा बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्मा, लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठ, दिदीबहिनी समाजकी अध्यक्ष तथा रुक्मिणी शाहकी आमा रमा देवी शाह, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, गैसस महासंघ नेपालका पूर्व अध्यक्ष तेज विक्रम शाह, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह तथा जयनारायण शाहले संयुक्त रूपमा नगद चेक र सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
सो अवसरमा कार्यकारी निर्देशक नमस्कार शाहले ‘रुक्मिणी महिला सशक्तीकरण सम्मान–२०८२’ को घोषणा गर्दै रुक्मिणीले समाज परिवर्तनका लागि पु¥याएको योगदानलाई निरन्तरता दिन अक्षयकोष स्थापना गरिएको बताए ।
सम्मान ग्रहण गर्दै लक्ष्मी श्रेष्ठले यस्तो सम्मानले निःस्वार्थ समाजसेवामा थप ऊर्जा र प्रेरणा मिलेको बताइन् । ‘यो सम्मान केवल मेरो होइन, महिला अधिकारका लागि संघर्षरत सम्पूर्ण दिदीबहिनीहरूको हो,’ उनले भनिन् ।
कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सभा सदस्य मिना श्रेष्ठले बास नेपालले अक्षयकोषमार्फत गर्दै आएको यस्तो पहल अनुकरणीय रहेको उल्लेख गरिन् ।
कार्यक्रमको प्रारम्भमा रुक्मिणी शाहको स्मृतिमा एक मिनेट मौनधारण गर्नुका साथै तस्बिरमा अविर र पुष्प अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो । कार्यक्रमको सञ्चालन बास नेपालका निर्देशक हेमराज भट्टले गरेका थिए ।
बास नेपालले रुक्मिणी शाहको स्मृतिमा स्थापना गरिएको अक्षयकोषमार्फत हरेक वर्ष जन्मदिनमा महिला सशक्तीकरण सम्मान तथा पुण्यतिथिमा सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सहयोग गर्दै आएको जनाएको छ ।






























