शान्ति ढकाल नेकपा एमालेकी केन्द्रीय सदस्य हुन् । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेको निर्वाचन कमाण्ड सम्हालिरहेकी पार्टी जिल्ला इन्चार्ज शान्ति ढकालले आसन्न निर्वाचनलाई ‘देश बनाउने र देश जलाउनेबीचको प्रतिस्पर्धा’ भएको टिप्पणी गरेकी छन् ।
निर्वाचनको सेरोफेरोमा आइतवार दैनिक नेपालगन्जसँग कुरा गरेकी नेतृ ढकालले जनतालाई देश बनाउने शक्तिलाई रोज्न आग्रह गर्दै तीन वटै निर्वाचन क्षेत्रमा एमाले अग्रस्थानमा रहेको दाबी गरिन् । ‘देश बनाउनेलाई जनताको मत प्राप्त हुने निश्चित छ,’ नेतृ ढकालले भनिन् ।
उनले वर्तमान राजनीतिक अवस्थालाई गम्भीर भन्दै संविधान कार्यान्वयनको पक्षमा दृढ शक्ति आवश्यक रहेको बताइन् । ‘पहिले जस्तो ‘किन एमालेलाई भोट दिने ?’ भन्ने प्रश्न मात्रै होइन, अहिले देश संकटपूर्ण अवस्थामा छ । संविधान कार्यान्वयन गरेर देशलाई स्थायित्व दिनुपर्ने परिस्थिति छ,’ ढकालले भनिन्, ‘संविधान कार्यान्वयन गर्ने स्पष्ट अडान एमालेको हो, त्यसैले एमालेले जित्नुपर्छ । होइन भने देश जलाउने, ध्वस्त बनाउने, संविधानले नचिनेका व्यक्तिहरू सरकार बनाउने अवस्था आउन सक्छ ।’
ढकालले विगतमा एमाले सरकारले बाँकेको विकासका लागि महत्वपूर्ण काम गरेको दाबी गरिन् । ‘पूर्वाधार निर्माण, स्वास्थ्य र शिक्षामा उल्लेखनीय प्रगति भएको छ । स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रसम्म एमाले सरकार हुँदा विकास निर्माणका काम तीव्र भएका थिए,’ नेतृ ढकालले भनिन्, ‘एमालेले काम गरेकै कारण जनतासँग मत माग्न सहज भएको छ । मतदातामा ‘विकास गर्ने पार्टी एमाले हो’ भन्ने विश्वास देखिएको छ ।’
बाँकेमा भूमिहीनको समस्या प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उनले स्थायी सरकार नहुँदा पूर्ण रूपमा काम अघि बढाउन नसकिएको स्वीकार गरिन् । ‘अब भूमि आयोगले निर्वाचनपछि लगत्तै ती कामलाई निरन्तरता दिन्छ,’ ढकालले भनिन्, ‘वर्षौंदेखि लालपुर्जा नपाएका र भूमिको अधिकारबाट वञ्चित नागरिकको समस्या समाधान गर्ने हाम्रो प्रतिबद्धता छ ।’
ढकालले निर्वाचनलाई विकास र स्थायित्वको पक्ष रोज्ने अवसरका रूपमा चित्रण गर्दै जनतालाई सोच–विचार गरेर निर्णय गर्न आग्रह गरेकी छन् । एमाले नेतृ ढकालका अनुसार, बाँकेका तीनै निर्वाचन क्षेत्रमा परिचालन कमिटी गठन गरी प्रचार–प्रसार अभियान तीव्र पारिएको छ । ‘पार्टीका सबै संगठन निर्वाचन अभियानमा सक्रिय छन् । व्यवस्थित र योजनाबद्ध ढंगले प्रचार अभियान सञ्चालन भइरहेको छ,’ उनले भनिन्, ‘तीनै क्षेत्रमा गरिएको मेहनतले हामी अगाडि छौं र तीनै क्षेत्र जित्छौं ।’
देशलाई स्थिरता र विकासको लयमा अघि बढाउन बहुमत आवश्यक रहेको उनको भनाइ छ । ‘देशलाई सही दिशा दिन र विकासको लयमा लैजान एमालेलाई बहुमत दिनुहोस्,’ उनले मतदातासँग अपिल गरिन् । एमालेले बाँकेमा सुर्य ढकाल निर्वाचन क्षेत्र न. १, मो. इस्तियाक राई क्षेत्र न. २ र सुमन मल्ल बाँके निर्वाचन क्षेत्र न. ३ मा उम्मेदवार बनाएको छ ।






























