माता तीर्थ औंशीको पावन अवसर पारेर एच.सी.आर.सी. अस्पतालद्वारा नेपालगन्जमा आयोजना गरिएको निःशुल्क बाँझोपन तथा निसन्तान शिविरमा उल्लेखनीय सहभागिता देखिएको छ । नेपालगन्जमै आइ.भि.एफ. सेवा उपलब्ध रहेको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त शिविरमा १०० भन्दा बढी निसन्तान दम्पती सहभागी भएका थिए ।
शिविरमा सहभागी दम्पतीहरूले विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श लिँदै आवश्यक जाँच तथा उपचार प्रक्रियाबारे विस्तृत जानकारी लिएका छन् । लामो समयदेखि सन्तान नहुँदा विभिन्न उपचार विधि अपनाउँदै आएका दम्पतीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो ।
शिविरमा सहभागी नजुमा खातुनले विवाह भएको ७–८ वर्षसम्म सन्तान नभएपछि सुरुमा आई.यू.आई. जस्ता विधिबाट प्रयास गरिएको तर सफलता नमिलेपछि अहिले आइ.भि.एफ. प्रक्रियातर्फ अघि बढेको बताइन् । यस्तै, १२ वर्षदेखि सन्तान नहुँदा विभिन्न उपाय अपनाउँदै आएका अर्का एक दम्पतीले पनि अहिले यही आधुनिक उपचार प्रक्रियामा आशा राखेका छन ्। भारत जाने तयारीमा रहेका उनीहरू नेपालगन्जमै सुविधा उपलब्ध भएपछि यहीँबाट उपचार अघि बढाइरहेका छन् ।
त्यसैगरी, दुर्गा थारूले आफ्नो बुहारीको दुई पटक गर्भ खेर गएको पीडा सुनाउँदै उपचारको आशामा शिविरमा आएको बताइन् । ‘दुई–दुई पटक बच्चा खेर गएको छ, चेकअप गराएर केही समाधान हुन्छ कि भन्ने आशले यहाँ आएका हौँ’, उनले भनिन् ।
अस्पतालका अनुसार शिविरमा अनुभवी स्त्री तथा प्रसूति रोग विशेषज्ञ, आइ.भि.एफ. विशेषज्ञ चिकित्सक, दक्ष नर्स तथा प्राविधिक टोलीको सक्रिय सहभागितामा सेवाग्राहीलाई विश्वस्तरीय ल्याब सुविधा सहित गुणस्तरीय सेवा प्रदान गरिएको थियो । निसन्तान समस्याका कारण पहिचान, आवश्यक परीक्षण तथा व्यक्तिगत उपचार योजनाबारे स्पष्ट परामर्श दिइएको पनि जनाइएको छ ।
महिला प्रसूति तथा निसन्तान विशेषज्ञ डा. मञ्जु बिसी शाहका अनुसार, आइ.भि.एफ. (इनभिट्रो फर्टिलाइजेसन) भनेको महिलाको अण्डा र पुरुषको शुक्रकीटलाई प्रयोगशालामा मिलाएर भ्रूण तयार गरी पाठेघरमा राख्ने प्रक्रिया हो । उनले यो विधि सबैका लागि आवश्यक नहुने बताउँदै धेरै अवस्थामा सामान्य औषधि वा आई.यू.आई. जस्ता प्रक्रियाबाटै सन्तान प्राप्ति सम्भव हुने स्पष्ट पारिन् । उनले आइ.भि.एफ. सम्बन्धी प्रचलित भ्रमसमेत चिर्दै यसबाट जन्मिएका बच्चा अस्वस्थ हुन्छन् भन्ने धारणा गलत रहेको बताइन् । ‘प्राकृतिक रूपमा जन्मिएका बच्चामा पनि समस्या देखिन सक्छ, त्यसैले आइ.भि.एफ. बाट जन्मिएका बच्चामा मात्रै समस्या हुन्छ भन्ने हुँदैन,” उनले भनिन् । एक वर्षसम्म नियमित प्रयास गर्दा पनि सन्तान नहुँदा त्यसलाई निसन्तान समस्याको संकेतका रूपमा लिन सकिने उनको भनाइ छ । उनका अनुसार आइ.भि.एफ. अन्तर्गत अण्डा संकलन (एग पिकअप) एकदिने प्रक्रियामा सम्पन्न हुने र केही घण्टाको निगरानीपछि बिरामीलाई घर पठाउन सकिन्छ ।
शिविर सञ्चालनको मुख्य उद्देश्य निसन्तान दम्पतीलाई लक्षित गर्दै नेपालगन्जमै उपलब्ध आधुनिक उपचार सेवा उपयोग गर्न प्रेरित गर्नु रहेको अस्पतालले जनाएको छ । ‘हामीसँग सेवा यहीँ उपलब्ध हुँदा बाहिर जानुपर्ने बाध्यता कम होस् भन्ने चाहना हो’, अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनका अनुसार यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत निसन्तान दम्पतीलाई घरमै सहज, सुलभ र विश्वसनीय उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । शिविरमा सहभागीहरूले विशेषज्ञसँग प्रत्यक्ष परामर्श पाउँदा आत्मविश्वास र नयाँ आशा प्राप्त गरेको प्रतिक्रिया दिएका छन् ।
नेपालमै आधुनिक प्रजनन उपचार सेवा सहज रूपमा विस्तार हुँदै जाँदा दम्पतीहरूलाई उपचारका लागि विदेश जानुपर्ने बाध्यता क्रमशः घट्दै गएको देखिएको छ । आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने अस्पतालले प्रतिबद्धता जनाएको छ ।






























