सुरेन्द्र मधेसिया
भारत–नेपाल सीमासँग जोडिएको रुपईडीहा बजारमा नेपाली मुद्रामा हुने कारोबार व्यवस्थापनको अभावले अवैध मुद्रा सटही बढ्दै गएको छ । नेपाली ग्राहकले भारतीय पसलमा प्रायः नेपाली मुद्रामै भुक्तानी गर्ने गरे पनि उक्त मुद्रा सटहीका लागि भारतीय रिजर्भ बैंकको आधिकारिक काउन्टर नहुँदा व्यापारीहरू अनौपचारिक माध्यममा निर्भर हुन बाध्य भएका छन् ।
स्थानीयस्तरमा सक्रिय अवैध मनी एक्सचेन्जरहरू रेलवे चोक, निजी तथा रोडवेज बसपार्क क्षेत्रमा खुल्ला रूपमा देखिने गरेका छन् । उनीहरूको कुनै आधिकारिक पहिचान वा अनुमति नहुँदा पनि सहज रूपमा कारोबार भइरहेको छ । यसैबीच, यस्ता अवैध कारोबारबाट स्थानीय प्रहरीले समेत फाइदा उठाउने गरेको आरोप व्यापारीहरूबाट उठेको छ ।
यसै सन्दर्भमा प्रहरीले ठूलो परिमाणको मुद्रा सहित ६ जनालाई नियन्त्रणमा लिएको छ । बुधबार बिहान उनीहरूको साथबाट १६ लाख ५० हजार भारतीय रुपैयाँ र ६९ लाख नेपाली रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये दुई जना नेपालका र चार जना रुपईडीहाकै बासिन्दा रहेका छन् । प्रहरीका अनुसार उनीहरू उक्त रकम लिएर नेपालतर्फ जाँदै थिए ।
इलाका प्रहरी प्रमुख निरीक्षक रमेश सिंह रावतका अनुसार, माथिल्लो निकायबाट प्राप्त सूचनाका आधारमा टोलीले संयुक्त रूपमा अपरेसन सञ्चालन गरी रकम बरामद गरेको हो। घटनासम्बन्धी थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रकरण आयकर विभाग भारतलाई पठाइएको छ ।
नेपाली ग्राहकले प्रायः नेपाली मुद्रामै भुक्तानी गर्ने गरे पनि उक्त मुद्रा सटहीका लागि भारतीय रिजर्भ बैंकको आधिकारिक काउन्टर नहुँदा व्यापारीहरू अनौपचारिक रूपमा सटही गर्न बाध्य छन्। यसै अवस्थाको फाइदा उठाउँदै अवैध मुद्रा सटही गर्ने समूह सक्रिय रहेको र उनीहरूबाट स्थानीय प्रहरीले मासिक रकम असुल्ने गरेको आरोप समेत उठेको छ ।






























