बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरवास (होमस्टे) मा आउने पाहुनालाई स्थानीय क्षेत्रमा उत्पादन भएका स्वादिला खानेकुराले स्वागत गर्ने गरिएको छ
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका गाभर भ्याली, खड्कवार सामुदायिक घरवास (होमस्टे) र राप्तीसोनारीको नयाँगाउँमा रहेका घरवासमा स्थानीय उत्पादन प्रवर्द्धनको लागि पाहुनालाई ढिक्री, घोँगी, सिद्राको अचार खुवाएर स्वागत गर्ने गरिएको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले
जानकारी दिनुभयो ।
गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ । यहाँबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ । थारू र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली घरवासमा दैनिक करिब ५०० आन्तरिक पर्यटक आउने गरेका छन् ।
यहाँ पाहुनालाई बाँके राष्ट्रिय निकुञ्जमा हात्ती सफारी र जङ्गल सफारीको व्यवस्था छ । यहाँ आउने पाहुनाहरु स्थानीय उत्पादनसँगै प्राकृतिक दृश्यावलोकनमा आकर्षित हुने गरेको च्यामा घरवासका सञ्चालक गणेश दहितले बताउनुभयो ।
बाँके निकुञ्ज घुम्न आउने पर्यटक अहिले घरवासमा उपलब्ध हुने विभिन्न उत्पादनबाट तयार हुने खानेकुरा खान आर्कषित भएका नयाँगाउँ ७ नम्बर घरवास सञ्चालक शोभा थारूले बताउनुभयो । यहाँ आएका पाहुनालाई स्थानीय जातका कुखुरा, ढिक्री, घोँगीलगायतका परिकारले सत्कार गर्ने गरिएको छ ।
नेपालगञ्जबाट करिब २५ किलोमिटरको दूरीमा रहेको नयाँगाउँ होमस्टे २०७२ सालमा सञ्चालनमा आएको हो । सुरुमा सात घरमा सञ्चालन गरिएको घरवास अहिले १३ घरमा सुरु भइसकेको छ ।
घरवास नजिकै वनस्पति उद्यान, ढकेरी वनभोजस्थल र बाँके राष्ट्रिय निकुञ्जको हात्तिसार रहेकोले आन्तरिक पर्यटकको चहलपहल हुनेगरेको नयाँगाउँ होमस्टेका अध्यक्ष मङ्गल थारुले बताउनुभयो ।
बाँकेका पाँच सामुदायिक घरवासमा ५० घरपरिवार आबद्ध छन् । २०७० सालमा सुरु भएको बाँकेको पहिलो गाभर भ्याली सामुदायिक अहिले नेपालकै नमूना घरवासका रुपमा चिनिन्छ ।





























