घरमै सिकाइ वातावरण विस्तारमा जोड
बर्दियाका ३ स्थानीय तहका १ वडा र २ टोललाई ‘एक घर, एक पढाइ कुनायुक्त वडा÷टोल’ घोषणा गरिएको छ । बालबालिकाको घरमै पढ्ने बानी विकास गर्ने, अध्ययनमैत्री वातावरण बनाउने र अभिभावकको सहभागिता बढाउने उद्देश्यसहित सञ्चालन गरिएको अभियानअन्तर्गत यी क्षेत्र घोषणा गरिएका हुन् ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपाल र स्थानीय तहसँगको साझेदारीमा सञ्चालन गरेको बालिका सशक्त परियोजनाअन्तर्गत बढैयाताल गाउँपालिका–७, गुलरिया नगरपालिका–१२ को भैसाही टोल तथा मधुवन नगरपालिका–२ का बंगलिपुर र सुन्दरपुर टोललाई ‘एक घर, एक पढाइ कुनायुक्त वडा÷टोल’ घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा सहभागीहरूले घर–घरमा बनाइएका पढाइ कुनाले बालबालिकामा अध्ययन बानीको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । उनीहरूका अनुसार अभियानले बालबालिकाको सिर्जनशीलता बढाएको छ भने परिवारभित्र सकारात्मक अन्तरक्रिया समेत विस्तार गरेको छ ।
‘हरेक घरमा पढाइको वातावरण र हरेक बालबालिकालाई सिकाइको अवसर दिनुपर्छ भन्ने सन्देश अभियानले स्थापित गरेको छ,’ कार्यक्रममा सहभागी एक अभिभावकले भने ।
बढैयाताल गाउँपालिकामा आयोजित घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मी अधिकारी र वडा नम्बर ७ का वडाध्यक्ष राधेश्याम थारुले बर्दियामै पहिलो पटक यस्तो वडा घोषणा गर्न पाएकोमा खुशी व्यक्त गरे । उनीहरूले बालबालिकाको भविष्य निर्माणमा यस्ता अभियान प्रभावकारी रहेको बताए ।
‘बाँके युनेस्को क्लब र प्लानको सहकार्यमा जिल्लामै पहिलो पटक यस्तो घोषणा गर्न पाउनु गौरवको विषय हो,’ गाउँपालिका अध्यक्ष त्रिपाठीले भने ।
गुलरिया नगरपालिका–१२ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा उपप्रमुख सावित्री गौतम, शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खत्री, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेशप्रसाद थारु, वडाध्यक्ष रामकुमार थारु, प्रधानाध्यापक श्रीप्रसाद सुवेदी तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।
यस्तै मधुवन नगरपालिकामा भएको कार्यक्रममा नगर प्रमुख तेजबहादुर भाट, उपप्रमुख अनिता चौधरी, नगर प्रवक्ता मेकबहादुर गुरुङ, शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनाल, महिला शाखाकी इन्द्रा चुनारा, वडा नम्बर २ का वडाध्यक्ष आशाराम थारु, विद्यालय व्यवस्थापन समिति सदस्य तथा विभिन्न शाखाका प्रतिनिधिहरू सहभागी भएका थिए ।
कार्यक्रममा बाँके युनेस्को क्लबका उपकार्यकारी निर्देशक गोविन्दप्रसाद लामिछाने र कार्यक्रम अधिकृत विजय शर्माले ‘एक घर, एक पढाइ कुना’ अभियानको प्रक्रिया र उद्देश्यबारे जानकारी गराएका थिए । उनीहरूले बालबालिकाको समग्र विकासका लागि अभिभावकको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए ।
अभियान सफल बनाउन योगदान पु¥याउने विद्यालय, किशोरी समूह, युवा क्लब, सामाजिक अगुवा तथा अभिभावकलाई कार्यक्रममा सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रम सफल बनाउन फिल्ड सुपरभाइजर भगवती बिके, नग्मा मनिहार तथा किशोरी र युवा समूहका सदस्यहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
अभियानले समुदाय, विद्यालय, अभिभावक र स्थानीय सरकारबीचको सहकार्यलाई थप बलियो बनाएको सहभागीहरूको भनाइ थियो ।






























