नेपालगन्जमा शुक्रबार आयोजित प्रथम मेयर कप पौडी प्रतियोगिताको उपाधी शिखा एकेडेमी कोहलपुरले हासिल गरेको छ । पूर्व खेलाडी समाज बाँकेले आयोजना गरेको अन्तरविद्यालय पौडी प्रतियोगितामा जिल्लाका १४ विद्यालयबाट सहभागी ८२ प्रतिस्पर्धी विद्यार्थीहरू बीच शिखा एकेडेमीले उत्कृष्ट नतिजा निकालेर उपाधी उचालेको हो ।
शिखालाई उत्कृष्ट नतिजा दिन सफल खेलाडी सुशान्त बोहरा प्रतियोगिताकै उत्कृष्ट खेलाडीका रूपमा पुरस्कृत भए । उनलाई आयोजक पूर्व खेलाडी समाज बाँकेका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठले उत्कृष्ट खेलाडीको उपाधीसँगै ५ हजार ५ सय पुरस्कार पनि प्रदान गरे ।
उपविजेता बन्न सफल भयो सोफिया रेसिडेन्सियल स्कुल । सोफियाका लागि सम्यक गैरेले सबैभन्दा बढी अंक जोड्न सफल भए ।
तृतीय स्थानमा स्प्रिङडेलले ट्रफि उचालेको छ । त्यसका लागि उत्कृष्ट छात्रा खेलाडी समेत घोषित भएकी नित्याश्री दहितले तेस्रो ट्रफि उचालिन् ।
कार्यक्रमका प्रमुख अतिथि, नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्जमा बनेको राजधानी काठमाडौं बाहिरको सबैभन्दा ठूलो स्वीमिङ्ग पुलको उपयोगले विद्यार्थीं, बालबालिकाहरूमा स्वीमिङ्ग खेलाडी बन्ने हौशला जाग्न सक्ने भन्दै प्रतियोगिता आयोजनालाई निरन्तरता दिन आवश्यकता रहेको औंल्याए ।
पूर्व खेलाडी समाज बाँकेका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा खेल क्षेत्रका विभिन्न व्यक्तित्वहरूले विजेता खेलाडीहरूलाई पुरस्कार तथा पदक वितरण गरेका थिए ।
समाजका सचिव नरेन्द्र थापाका अनुसार, अघिल्लो बर्षदेखि नै पौडी प्रतियोगितालाई प्राथमिकतामा राखेको पूर्व खेलाडी समाज बाँकेले यसबर्षदेखि मेयर कपका रूपमा जिल्लाभरीका विद्यालयहरूलाई सहभागी बनाएर पौडी खेलको विकासमा गति ल्याउन खोजेको बताए । समाजले हक्की, ब्याडमिन्टन, शारीरिक सुगठन, भलिबल लगायतका प्रतियोगिता पनि आयोजना गर्दैछ ।





























