लुम्बिनी प्रदेशमा पूर्वाधार निर्माणमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर सुनिश्चित गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण व्यवसायी महासंघ, लुम्बिनी प्रदेशबीच सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्ने सहमति भएको छ ।
प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा मंगलबार आयोजित कार्यक्रममा प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ई. छबिराज पोखरेल र निर्माण व्यवसायी महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र रानाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारीअनुसार प्रदेशभित्र सञ्चालन हुने पूर्वाधार विकास आयोजनामा प्रयोग हुने निर्माण सामग्रीको स्रोत पहिचान, गुणस्तर परीक्षण, उत्खनन, व्यवस्थापन तथा बिक्री वितरणलाई वैज्ञानिक, व्यवस्थित र व्यावसायिक बनाउने लक्ष्यका साथ कम्पनी स्थापना गरी प्रयोगशाला सञ्चालन गरिनेछ ।
सञ्चालनमा आउने कम्पनीले निर्माण सामग्रीको स्रोत पहिचानदेखि प्रयोगशालामार्फत गुणस्तर परीक्षण, उत्खनन व्यवस्थापन तथा बजारीकरणसम्मका कार्यमा सहजीकरण गर्नेछ । यसबाट विकास आयोजनामा प्रयोग हुने सामग्रीको गुणस्तर सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रदेश सरकारअन्तर्गत प्राधिकरणमार्फत सञ्चालन हुने उक्त प्रयोगशालालाई नेपाल सरकारले समेत मान्यता दिएको जनाइएको छ ।
सम्झौताबमोजिम प्रदेश पूर्वाधार विकास प्राधिकरणले निर्माण सामग्रीका स्रोतको अध्ययन तथा पहिचान, गुणस्तर परीक्षणको व्यवस्था, उत्खननका लागि आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया अघि बढाउन प्रदेश तथा संघीय सरकारका सम्बन्धित निकायसँग समन्वय गर्ने, कम्पनी दर्ता प्रक्रिया पूरा गर्ने र प्रयोगशाला स्थापनाका लागि आवश्यक जग्गा व्यवस्थापनको पहल गर्नेछ । कम्पनी स्थापनाका लागि आवश्यक कुल लगानीमध्ये ६७ प्रतिशत हिस्सा प्राधिकरणले व्यहोर्नेछ ।
निर्माण व्यवसायी महासंघ, लुम्बिनी प्रदेशले भने कम्पनी स्थापना प्रक्रियामा सहकार्य गर्दै कुल लगानीको ३३ प्रतिशत रकम जुटाउने, निर्माण सामग्रीको उत्खनन, व्यवस्थापन तथा बिक्री वितरणमा सहजीकरण गर्ने जिम्मेवारी लिएको छ । साथै प्रदेश, जिल्ला र स्थानीय तहका निर्माण व्यवसायीलाई प्रयोगशालाको सेवा उपयोग गर्न प्रोत्साहन गर्नुका साथै कम्पनीमार्फत व्यवस्थापन गरिएका निर्माण सामग्रीको बजारीकरणमा पनि महासंघले सहजीकरण गर्नेछ ।
प्रदेश सरकारले यस सहकार्यबाट निर्माण सामग्रीको गुणस्तर परीक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने र प्रदेशका पूर्वाधार निर्माण आयोजनाको समग्र गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ ।






























