अग्रज साहित्यकारलाई नागरिक अभिनन्दन
लामो समयदेखि साहित्य साधनामा सक्रिय दुई अग्रज साहित्यकार सनत रेग्मी र विष्णुलाल कुमाललाई सोमवार नेपालगन्जमा नागरिक अभिनन्दन गरिएको छ ।
नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा सार्वजनिक कार्यक्रम गरि नागरिक अभिनन्दन गरिएको हो ।
प्रभातफेरी, माल्यार्पण, नागरिक अभिनन्दन तथा पुरस्कार वितरणलगायत विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको भानुजयन्ती महेन्द्र पुस्तकालय, भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति र भेरी साहित्य समाजको संयुक्त आयोजनामा मनाइएको थियो ।
नेपालगन्जको न्युरोडस्थित भानुभक्त चोकमा रहेको आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण पछि भानु चोकबाट सुरु भएको प्रभातफेरी त्रिवेणी मोड र त्रिभुवन चोक हुँदै महेन्द्र पुस्तकालय पुगेर औपचारिक समारोह गरिएको थियो ।
प्रभातफेरीपछि आयोजित औपचारिक समारोहमा साहित्यकार सनत रेग्मी र विष्णुलाल कुमाललाई दोसल्ला, माला र सम्मानपत्रसहित नागरिक अभिनन्दन गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल यादवले सम्मानित व्यक्तित्वहरूलाई सम्मान अर्पण गरे ।
समारोहमा मन्त्री यादवले समाज रूपान्तरणका लागि प्रत्येक व्यक्तिले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए । लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठ र अम्बिका काफ्ले तथा आयोजक संस्थाका अध्यक्षहरू कृष्णप्रसाद श्रेष्ठ, इन्द्रबहादुर बस्नेत र बलराम यादवले पनि संयुक्त रूपमा साहित्यकारद्वयलाई सम्मान अर्पण गरेका थिए ।
सम्मानित श्रष्टा रेग्मी र कुमालले नागरिक अभिनन्दनले आफूहरूलाई थप जिम्मेवार र उत्साहित बनाएको बताए । उनीहरूले ‘यो सम्मानले साहित्य साधनामा अझ निरन्तर लागिरहन प्रेरणा दिएको छ,’ भन्दै आगामी दिनमा पनि साहित्य सिर्जनामा सक्रिय रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा भेरी साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष डा. हरि तिमिल्सिनाले आदिकवि भानुभक्त आचार्यको साहित्यिक योगदान र नेपाली भाषा विकासमा उनले खेलेको ऐतिहासिक भूमिकाबारे प्रकाश पारेका थिए ।
समारोहमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, महेन्द्र पुस्तकालयका पूर्वअध्यक्ष तथा सामाजिक व्यक्तित्व कन्हैयालाल टण्डन, लेखक तथा साहित्यकार नरेन्द्रजंग पिटर, बाँकेका अग्रज व्यक्तित्व, बुद्धिजीवी, पत्रकार, सामाजिक तथा राजनीतिक अगुवा तथा उद्योगी–व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रम भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियो । महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवले स्वागत मन्तव्य राखेका थिए भने भेरी साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए ।
महेन्द्र पुस्तकालयका सचिव सतिश निरौलाका अनुसार, सोही अवसरमा महेन्द्र पुस्तकालयको अतिरिक्त क्रियाकलाप उपसमितिले आयोजना गरेको निबन्ध लेखन प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई नगद, प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो ।






























