स्थापना कालदेखि मानव अधिकार, सामाजिक न्याय, लोकतन्त्र, विधिको शासन तथा नागरिक अधिकारको संरक्षणका क्षेत्रमा निरन्तर सक्रिय राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलाइन्स) ले आफ्नो २७औँ स्थापना दिवस देशभर विविध कार्यक्रम आयोजना गरी मनाएको छ। स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश सहित विभिन्न प्रदेश, जिल्ला तथा स्थानीय तहमा मानव अधिकार सम्बन्धी अभिमुखीकरण, अन्तरक्रिया, शुभकामना आदानप्रदान, युवासँग संवाद तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको जनाइएको छ।
राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलाइन्स) ले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा मानव अधिकार एलाइन्स लुम्बिनी प्रदेश समिति र बाँके जिल्ला शाखा को संयुक्त आयोजनामा नेपालगञ्जमा स्थानीय मानव अधिकार रक्षक तथा उपभोक्ता समितिका पदाधिकारीहरूका लागि मानव अधिकार, नागरिक अधिकार, उपभोक्ता अधिकार तथा समसामयिक मानव अधिकारका सवालहरूबारे अभिमुखीकरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
मानव अधिकार एलाइन्स बाँकेका अध्यक्ष घनश्याम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एलाइन्सका प्रदेश अध्यक्ष अधिवक्ता बसन्त गौतमले स्थापना दिवस केवल औपचारिक उत्सव नभई मानव अधिकारको वर्तमान अवस्था, मानव अधिकार रक्षकहरूको सुरक्षा तथा राज्यको उत्तरदायित्वबारे समीक्षा गर्ने अवसर भएको बताए।
उनले मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन लोकतान्त्रिक शासन व्यवस्थाको आधार भएको उल्लेख गर्दै प्रत्येक नागरिकले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्नु राज्यको संवैधानिक तथा नैतिक दायित्व भएको स्पष्ट पारे। साथै, मानव अधिकारका सवाललाई समुदायसम्म पु¥याउन, नागरिक सचेतना अभिवृद्धि गर्न तथा मानव अधिकार रक्षकहरूको भूमिका अझ प्रभावकारी बनाउन एलाइन्स निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा अधिवक्ता गौतमले उपभोक्ता अधिकार, उपभोक्ता संरक्षण सम्बन्धी कानुनी व्यवस्था, नागरिकका अधिकार तथा मानव अधिकार रक्षकहरूको भूमिका विषयमा प्रशिक्षणसमेत दिएका थिए। उनले मानव अधिकारको संरक्षण केवल राज्यको जिम्मेवारी मात्र नभई नागरिक समाज, सञ्चारमाध्यम, कानुन व्यवसायी तथा समुदायको साझा दायित्व भएको बताए।
कार्यक्रममा मानव अधिकार एलाइन्सका प्रदेश सचिव राजाराम गुप्ताले लुम्बिनी प्रदेशमा एलाइन्सले सञ्चालन गरेका मानव अधिकार संरक्षण, सामाजिक न्याय प्रवर्द्धन, नागरिक सचेतना तथा सञ्जाल विस्तारका गतिविधिहरूको समीक्षा गर्दै आगामी दिनमा समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाइने बताए।
त्यसैगरी, मानव अधिकार एलाइन्सकी केन्द्रीय सदस्य शाहिदा शाहले महिला अधिकार, लैङ्गिक समानता तथा लैङ्गिक न्यायका विषयमा सहजीकरण गर्दै महिला तथा सीमान्तकृत समुदायका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि राज्य र समाज दुवै संवेदनशील बन्नुपर्नेमा जोड दिइन्।
एलाइन्सका पूर्व उपाध्यक्ष अधिवक्ता सुरेश कुमार गौतमले मानव अधिकारको अवधारणा, नागरिक अधिकार, संवैधानिक व्यवस्था तथा राज्यको दायित्वबारे प्रकाश पार्दै विधिको शासन र मानव अधिकारबीचको अन्तर सम्बन्धलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए।
कार्यक्रममा ५० भन्दा बढी स्थानीय मानव अधिकार रक्षक तथा उपभोक्ता समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई नेपालको वर्तमान मानव अधिकार अवस्था, नागरिक अधिकार, मानव अधिकारसम्बन्धी चुनौती, उपभोक्ता अधिकार तथा समुदायमा मानव अधिकार रक्षकहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे अभिमुखीकरण गरिएको सहजकर्ता अधिवक्ता बसन्त गौतमले जानकारी दिए।
यसैबीच, स्थापना दिवसका अवसरमा मानव अधिकार एलाइन्सका केन्द्रीय अध्यक्ष विदुर सुवेदीले शुभकामना सन्देश जारी गर्दै स्थापना दिवसलाई मुलुकको मानव अधिकार अवस्था, मानव अधिकार रक्षकहरूको सुरक्षा, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका मानव अधिकारका सवालमाथि गम्भीर समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
उनले युवाहरूसँगको संवाद, समुदायसँगको प्रत्यक्ष सहकार्य, मानव अधिकारका विविध आवाजहरूको सम्मान तथा संस्थापक, पूर्व पदाधिकारी, सदस्य संस्था, अभियन्ता र सरोकारवालाबीचको एकताको माध्यमका रूपमा स्थापना दिवसलाई मनाइएको उल्लेख गर्दै मानव अधिकार र सामाजिक न्यायका लागि एलाइन्सको अभियान अझ सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
स्थापना दिवसका अवसरमा देशभर सञ्चालन गरिएका कार्यक्रमहरूले मानव अधिकार संरक्षण, सामाजिक न्यायको प्रवर्द्धन, नागरिक सचेतना अभिवृद्धि तथा समुदायस्तरमा मानव अधिकारको संस्कृति सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।






























