२१३ औँ भानुजयन्तीका अवसरमा सोमवार कोहलपुरमा खुला रामायण वाचन प्रतियोगिता गरिएको छ । प्रतियोगितामा शोभना देवकोटा प्रथम भएकी छन् ।
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुरले नेपाली भाषा, साहित्य, संस्कार तथा सांस्कृतिक चेतनाको प्रवद्र्धन गर्दै आमपाठकमाझ पठन र वाचन संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा सुप्रभा उपाध्याय द्वितीय र शिवशक्ति माध्यमिक विद्यालयकी छात्रा सदिक्षा भट्टराई तृतीय भइन् । विजेताहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो ।
निर्णायक समिति संयोजक, त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक डा. हरिप्रसाद तिमिल्सिनाले भानुभक्त आचार्यको जीवन र नेपाली साहित्यमा पु¥याएको योगदानबारे प्रकाश पारे । उनले भारतको आसाम राज्यमा भानुजयन्तीका अवसरमा सार्वजनिक बिदा दिइने गरेको उल्लेख गर्दै नेपाल सरकारले पनि भानुजयन्तीलाई राष्ट्रिय सम्मानका साथ सार्वजनिक बिदा दिएर मनाउनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा प्राज्ञसभा सदस्य महानन्द ढकालले आदिकवि भानुभक्त आचार्यको योगदान नेपाली भाषा, साहित्य, कला र संस्कृतिका लागि अनुपम रहेको बताए ।
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष एकराज शर्माले पछिल्लो समय समाजमा पठन संस्कृति, नैतिक मूल्य, संस्कार र सांस्कृतिक चेतनामा आएको ह्रासलाई ध्यानमा राखेर यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए । उनले पुस्तकालयलाई ज्ञानको साझा केन्द्रका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै सबै उमेर समूहका पाठकका लागि सिकाइ, अध्ययन र व्यक्तित्व विकासको प्रभावकारी माध्यम बन्नुपर्नेमा जोड दिए ।






























