प्रदेशमा काँग्रेस–एमालेको गठबन्धन सरकारमा विवाद देखिएको छ । बुधबार मात्रै दुई प्रदेशमा मन्त्री राजिनामा र बर्खास्त भएका छन् ।
कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार मन्त्रीले बुधबार राजिनामा दिए । आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले संयुक्त रूपमा त्यागपत्र दिनुभएको नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले जानकारी दिएका हुन् ।
दुई÷दुई वर्ष आलोपालो सरकार चलाउने गरी सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार उनीहरूले राजिनामा दिएका हुन् ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ ।
धनगढीमा बुधबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिएका छन् । उनले आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा पार्टीको असहमति रहेको र समाधानका लागि छलफल भइरहेका बेला आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई पदमुक्त गरेपछि समर्थन फिर्ता लिनुपरेको बताए ।
त्यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट सरकारमा प्रतिनिधित्व गरेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरेका थिए ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले लुम्बिनीमा सत्ता साझेदार दलबीच कुनै समस्या नरहेको दाबी गरेका छन् । ‘लुम्बिनीमा सहमति मै बजेट पास भयो’, मन्त्री खत्रीले भने, ‘नेतृत्वका विषयमा काँग्रेस र एमालेले केन्द्रीय नेतृत्वलाई जिम्मा लगाएको छ, केन्द्रीय नेतृत्वले जे फैसला गर्छ हामी मानेर अगाडि बढ्छौं । ’






























