जिल्ला प्रहरी कार्यालय बाँकेले एकै दिन आधा किलो बढी ब्राउनसुगर बरामद गरेको छ । जुन हालसम्म एकै दिन बरामद भएको उच्च मात्रा हो ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरले लागुऔषध विरुद्धको कारवाहीका क्रममा दुई जनालाई ५ सय २६ ग्राम २९० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने लागुऔषध सहित नियन्त्रणमा लिन सफल भएको जानकारी दिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ न्यूरोड स्थित एक घरमा लागुऔषधको कारोबार भैरहेको सूचनाका आधारमा कारवाही गर्न पुगेको लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले सुशिल भण्डारी र अरूण कुमार जयसवालको खानतालासी गर्दा १ सय ३६ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । प्रहरीले अनुसन्धानका क्रममा जयसवालको घरबाट थप ३ सय ८९ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । प्रहरीले जयसवालको घरमा दराजमा लुकाइराखेको ब्राउनसुगर फेला पारेको जानकारी दिएको छ ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक राठौंरले ठूलो परिणाममा लागुऔषध बरामद भएकाले नियन्त्रणमा लिइएका व्यक्ति लागुऔषधको कारोबारी भएको प्रारम्भिक अनुमान रहेको बताए । ‘यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएका छौं’, उनले भने ।































