मानव समाज कुनैपनि समस्या रहित त कहिल्यै हुँदैन । मानव समाज विकासको क्रममा जुनसुकै कालखण्डमा पनि समय अनुसारका समस्याहरू रहेका थिए, अहिले पनि छन् र भोलि पनि रहिरहने नै छन् । तर ती समस्याहरूले समाजको सहि सहि विकासक्रम र सहि सहि मार्गमा चल्ने क्षमतामा कत्तिको असर पुर्याइ रहेको हुन्छ भन्ने कुरा मुख्य कुरा हो । अब सहि सहि मार्ग र सहि सहि विकासक्रम भन्नेमा पनि बिभिन्न सहमति र असहमतिहरू हुनसक्छन् । किन पनि भने समाजको विकासक्रमलाई अध्ययन गर्ने अध्येताहमा पनि मतऐक्यता कहिल्यै भएको पाइँदैन । त्यसमा पनि वामपन्थी मत र अन्य मतमा निकै मतभिन्नता रहेको छ । हिंसात्मक विकासक्रमको मत भनेको पश्चिमाहरूको मत अथवा वाममत हो भने सहृदयात्मक समन्वयात्मक मत पर्बीय र यसक्षेत्रको मौलिक मत हो । उसैपनि बिभिन्न खाले समाजको विकासक्रमलाई एउटै मात्रै साँचोमा हालेर अध्ययन गर्न सकिने पनि हुँदैन । तर सोलोडोलो वाममतको थ्योरममा हालेर सबैखाले समाजको विकासक्रमलाई अध्ययन गर्ने र ब्याख्या गर्ने शैली नै नेपाली समाजको बल्झाइएको समस्या हो भन्न सकिन्छ ।
मानव समाज यत्तिकै कहाँ बन्छ र ? समाज बन्न त त्यहाँ मानिस हुनुपर्छ । मानिस बस्ने वातावरण हुनुपर्छ । मानिसको विकासक्रमका अवयहरू सकारात्मक हुनुपर्छ । त्यहाँ सुखदुःख अनुभूत गर्ने भावना र त्यसलाई शब्दमा व्यक्त गर्ने भाषा हुनुपर्छ । त्यहाँ बस्ने÷विकसित हुने मानिसहरूको भौगोलिक आधारको खानपान, भेषभूषा, चालचलन र त्यहि चालचलनमा हुर्केको संस्कार अनि सँस्कृतिको विकास हुनुपर्छ । मानिसले मानिसलाई गर्ने व्यवहारमा आफ्नोपनको झझल्को पनि हुनुपर्छ । यी सबैको समष्टिगत रूप समाज बन्दछ ।
यसरी नै त हो कुनैपनि भूगोलमा रहेको मानवको जीवनचक्र चल्ने । यसैबाट हो समाज बन्ने र त्यहाँ आपसी विश्वासको वातावरण बन्ने ।
वर्तमान समयमा विज्ञानको बुद्धि, प्रविधिको प्रगति सँगै धर्मको विवेक र अविवेक सहृदयताको सम्बन्ध आदिले कुनैपनि समाजमा एकैथरि एकै रूपरङ्ग भएका र उस्तै मात्रै चरित्र भएको मानिसहरूको बसोबास हुन्छ नै भन्ने हुँदैन । त्यहाँ केहि न केहि भिन्नता अवश्य हुन्छ । त्यहि भिन्नताबाट जन्मिन्छ बहुविचार, बहुसाँस्कृतिक समाज ।
नेपालको भूगोल अधिकाशं अर्थात लगभग ८५ प्रतिशत पहाड र हिमालले ओगटेको र जम्मा १५ प्रतिशत मात्रै समथर भएको भएता पनि यहाँँको पूर्व देखि पश्चिम सम्मको सबै पहाडी र हिमाली भूभागमा एउटै सँस्कृति, एउटै भाषा र एकै प्रकृतिको समाजिक बनोट भने छैन । यसैगरि समथर भन्दैमा सबै १५ प्रतिशत समथर भूभागमा पनि एकै प्रकृतिको भाषा भेषभूषा र सँस्कृति छैन । यहि नै त हो नेपालको विभिधता । यस्तै बिभिधता भित्र नेपाली समाजको कथा ब्यथा हुर्केको छ । यसैमा बहुसाँस्कृतिकता बसेको छ । तर जतिसुकै बहुभाषिक र बहुसाँस्कृतिक भएता पनि यी सबैलाई एउटै मालामा एउटै शुत्रमा उन्न सक्ने ल्याकत भूगोल यानि नेपाल भन्ने भौगोलिक सीमाभित्रको देश मात्रै छ । अरू कुनै शुत्रले एकाकार गर्नै सक्दैन ।
नेपाल देश बिभिन्न कालखण्डमा खण्डिकृत रहेको थियो भने बेलाबेलामा साँस्कृतिक बिभिधतालाई आ आफ्नो पहिचान बनाएर राष्ट्रिय पहिचान चाहिँ (भूगोल) नेपाल भन्ने देश बनाउने प्रयास गरिएको थियो ।
नेपालको भौगोलिक सीमा बिभिन्न शासकहरूका सामर्थका आधारमा कहिले फैलिेन र कहिले खुम्चिने भएको पनि तथ्यहरू पाइन्छ ।
आधुनिक नेपालका निर्माता बडामहाराज पृथ्बीनारायण शाहले नेपाललाई एकिकृत गर्नुभन्दा पहिला पनि नेपाल यस्तै एकिकृत हुन नखोजेको होइन । केहि भएको पनि हो तर ती प्रयासहरू अहिलेको जस्तो लामो समयसम्म टिक्न सकेन । यसको कारण थियो राजा रजौटाहरूका भाइभारदरहरूको अंशवण्डा हुँदा राज्य नै बिभाजन गरेर टुक्र्याउने प्रचलन । यसैले नेपाल एकिकृत र बिशाल बनि रहन सकेन । सधैं कमजोर राज्य बन्ने र भाइझगडा अशं झगडा झैं राज्य र त्यहाँ रहेका जनताले सास्ती मात्रै भोग्न परिरह्यो ।
बडामहाराज पृथ्बी नारायण शाहले यो कुरा राम्रोसँग बुझ्नु भएको थियो । यसैले वहाँले गुरु गोरखनाथको आर्शिवादपछि नेपाल एकिकरण गर्दैगर्दा न त कसैको सँस्कृति मास्ने काम गर्नु भयो न कुनै राज्य वा भूगोललाई व्यक्तिगत सम्पत्ति झैं अशंबण्डा लगाउने परिपाटीलाई निरन्तरता दिनुभयो । वहाँ आफैं गोरखा राज्यको भागबण्डा भोगि सकेको राजा भएकोले वहाँमा कम्तिमा पनि यो गल्ती नदोहोर्याउने आँट र समझ आएको हुनुपर्छ ।
नेपाल चारित्रिक रूपमा तीन सय बर्ष पछि फेरि पृथ्बीनारायण शाहको कालभन्दा ठ्याक्कै पछाडी आएर उभिएको जस्तो भएको छ । खासगरि नेपालसँग, नेपालको भूगोलसँग, यहाँको साँस्कृतिक वैभवतासँग, यहाँको भाषा संस्कारसँग, नेपाली मौलिकतासँग कुनै पनि कोणबाट अर्थ प्रसँग नै नमिल्ने वाद (माक्र्सवाद, लेनिनवाद र माओवाद) को हैकमवादी चरण शुरु भएपछि नेपालको भूगोल खण्डित र नेपाली मनहरू बिखण्डित हुँदै गएका छन् । समाजभित्र वैमन्यश्यता, द्धन्द र बिखण्डनको बिष घोलेर त्यसलाई नै प्रगतिशिलता भन्ने भ्रम छरिएको छ ।
पछिल्लो कालखण्डमा नेपाली समाजको ब्याख्या वामपन्थी हैकमवादले आफु अनुकुल गर्यो । नेपाली समाजलाई उनिहरूको भाषामा “जडशुत्रवादी, सामन्ती दलाल पूँजिवादी र साँस्कृतिक पाखण्डवादी” मात्रै देख्यो । यहाँको समाजमा रहेको समाजिक सौहाद्र्धता, आपसी सहयोग, समाजिक उत्तरदायित्वपूर्ण चरित्र, व्यत्तिगत नैतिकता, जातजातिमा रहेको सहृदयता, नेपाली समाजमा रहेका मौलिक ज्ञान परम्परा र सीप सबैकुरामा नेपाल निरपेक्षतावादी वामपन्थले कैफियत मात्रै देख्यो । सकारात्मकता कहिल्यै देख्नै चाहेन ।
नेपाली समाजमा रहेको बिभिधता भित्रको एकता वामपन्थको विकासका लागि अवरोध थियो । वामपन्थको दलालतन्त्रको लागि नेपाली मौलिक ज्ञान सीपहरू अवरोधी तत्व थिए । वैश्विक एकल पूँजिवादका प्रचारक विचार वामपन्थका लागि समाजिक एकता, समाजिक कार्यमा सबैको सहकार्य र सहभागिता बाधक आचरण थिए । व्यक्तिगत नैतिकता र जवाफदेहिता वामपन्थको विकासको लागि असहज परिस्थितिहरू नै थिए । यसलाई नभत्काइकन उनीहरूको कथित “गरीब किसानको हित” भन्ने वर्गीय नाराले रनभूल्ल पार्न अप्ठ्यारो थियो ।
यहि बिन्दुबाट शुरु भयो नेपाली समाजलाई तोड्ने, भत्काउने, नेपाली समाजभित्र रहेका असल अभ्यासहरू, समाजिक चरित्रहरूलाई निस्तेज पार्ने र यसलाई असभ्यकरणको नामाकरण गरि गाली गरेर समाजभित्र जातिय क्षेत्रिय वैमनश्यताको बिष घुलन गर्ने काम ।
नेपाली समाजले आज कत्तिको सुख पाएको छ वा कत्तिको सन्तुष्ट हुन पाएको छ ? त्यो कुराको गम्भीर अध्ययन हुनैपर्छ, अन्यथा नेपाली समाजको वर्तमान इतिहास नै अधुरो अन्यायपूर्ण हुनेछ ।
नेपाली समाजभित्र हिजोको त्यो न चरित्र छ, न समाजिक एकता छ, न समाजिक नैतिकता नै बचेको छ । यहाँको समाजभित्र मौलाउँदै गएको अति उपभोक्तावाद, भौतिकवादको चरमताले चुलिएको चापलुसवाद, स्वार्थवाद र आत्मा परामात्मा देखि मानव नश्ललाई समेत नितान्त वस्तुवादी सोचबाट गरिने ब्याख्या र बुझाइ भएको छ । यस्तै सोचको विकासले गर्दा नेपाली मूलको, कुल परम्पराको, नेपाली भाषा सँस्कृति र मौकिलताको अनि अन्ततोगत्वा नेपाली नश्लको नै विनाश भैरहेको छ । सहृदयतावाद बिरुद्धको द्धन्दवाद, रैथाने मौलिकता बिरुद्धको आयातित नेपाल निरपेक्षतावाद, मौलिक नेपाली नश्ल बिरुद्धको हाइब्रीड नश्लवाद नै आज नेपाली समामजको दुर्दशाको पहिलो कारण हो ।































