सजल गैरे
नेपालगन्ज तेक्वान्दो संघले पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका विश्वविख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित उनका टोलीका सदस्यको सम्मान र सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
नियमितको खेलाडी प्रशिक्षणपछि विहीवार आयोजित कार्यक्रममा संघका खेलाडी तथा प्रशिक्षकले दिवंगत आरोहीको साहस, समर्पण र राष्ट्रका लागि पु¥याएको योगदानको स्मरण गरेका हुन् । त्यसक्रममा उनीहरूले आरोहण अभियानमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे ।
तेक्वान्दो संघका वरिष्ठ प्रशिक्षक चन्द्रप्रकाश श्रेष्ठले निर्मल पुर्जाको योगदान नेपाली पर्वतारोहणका लागि विशेष रहेको बताए । विश्व पर्वतारोहणमा नेपाललाई नयाँ उचाइमा पु¥याउन पुर्जाले खेलेको भूमिकाको चर्चा गर्दै उनले उनको योगदान लामो समयसम्म स्मरण भइरहने बताए ।
‘निर्मल पुर्जा केवल सफल पर्वतारोही मात्र होइन, नेपाली युवाका लागि साहस, आत्मविश्वास र देशप्रेमको प्रतीक हुनुहुन्थ्यो, उहाँले स्थापित गर्नुभएको कीर्तिमान र जीवनदर्शनले भावी पुस्तालाई निरन्तर प्रेरणा दिइरहनेछ,’ ठुलो संख्यामा सहभागी प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्दै श्रेष्ठले भने ।
डोजाङ प्रमुख उमा थापा मगरले ब्रड पिक आरोहणमा ज्यान गुमाएका आरोहीले देखाएको साहसलाई सम्मान गर्नुपर्ने बताइन् । कठिन हिमाली अभियानमा उनीहरूले देखाएको समर्पण असाधारण रहेको उनको भनाइ छ । ‘उहाँहरूले आफ्नो अभियानमार्फत नेपालको प्रतिष्ठा विश्वमाझ थप उचो बनाउन महत्वपूर्ण योगदान दिनुभयो, ’ उनले भनिन् ।
कार्यक्रममा खेलाडीहरूले निर्मल पुर्जा र उनका टोलीका सदस्यको साहसलाई आफ्नो खेलजीवनसँग जोडेर स्मरण गरे । अनुशासन, समर्पण र राष्ट्रप्रतिको जिम्मेवारीलाई उनीहरूले आफ्ना लागि पनि प्रेरणाको विषय बनाउने प्रतिबद्धता जनाए । नेपालगन्जका भृकुटी तेक्वान्दो डोजाङ, ब्राइटलाइन तेक्वान्दो डोजाङ, आदर्श तेक्वान्दो डोजाङ, होलील्यान्ड तेक्वान्दो डोजाङका सम्पूर्ण खेलाडीले संयुक्त प्रतिबद्धता जनाएका हुन् ।
नेपालगन्ज तेक्वान्दो संघले पुर्जा र उनका टोलीले पर्वतारोहणका क्षेत्रमा पु¥याएको योगदान नेपालको इतिहासमा सम्मानका साथ स्मरण भइरहने विश्वास व्यक्त गरेको छ ।






























