सजल गैरे
प्रविधिप्रतिको आकर्षणसँगै पुस्तक पढ्ने बानी घट्दै गएको अवस्थामा युवालाई पठन संस्कृतिसँग जोड्ने र पुस्तकालयलाई ज्ञान, संवाद तथा सिर्जनाको केन्द्रका रूपमा विकास गर्ने विषयमा बहस गरिएको छ ।
नेपालगन्जस्थित महेन्द्र पुस्तकालयको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा बुधवार महेन्द्र पुस्तकालय युवा संवाद उपसमितिले ‘पठन संस्कृति र युवा’ विषयमा अन्तरक्रियात्मक कार्यक्रम गरेको हो । जहाँ समाजका वरिष्ठ व्यक्तित्वदेखि युवा प्रतिनिधिहरु एकै मञ्चमा खुलेर बहस गरे ।
कार्यक्रममा युवामा पढ्ने संस्कारको विकास, पुस्तकालयको बदलिँदो भूमिका र प्रविधिको सही प्रयोगबारे अन्तक्र्रियात्मक बहस गरिएको छ । सहभागी युवाले पुस्तक अध्ययन मनोरञ्जनमा मात्र सीमित नभई जीवनलाई सही दिशा दिने माध्यमसमेत भएको धारणा राखेका छन् । उनीहरूले पुस्तकबाट ज्ञान आर्जनसँगै मानसिक ताजगी प्राप्त हुने बताए ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगबीच प्रविधिलाई सही ढंगले उपयोग गर्न सके त्यसले पठन संस्कृतिलाई कमजोर पार्नुको साटो थप विस्तार गर्न सक्ने विषय पनि छलफलमा उठ्यो । सहभागी युवाले आफूलाई मन पर्ने पुस्तक, अध्ययनका लागि छुट्याउने समय र पढ्ने बानीबारे अनुभव आदानप्रदान गरे ।
वरिष्ठ साहित्यकार सनत रेग्मीले सामाजिक सञ्जाललाई वास्तविक ज्ञानको स्रोतभन्दा सूचना प्रवाहको माध्यमका रूपमा बढी प्रयोग गरिएको बताए । पछिल्लो पुस्तामा पुस्तक पढ्ने बानी हराउँदै गएको भन्दै उनले विद्यालय तहदेखि नै विद्यार्थीलाई पुस्तकालयमा बसेर अध्ययन गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए ।
‘पुस्तक पढ्ने संस्कार विद्यालय तहबाटै विकास गर्न आवश्यक छ,’ रेग्मीले भने । उनका अनुसार पुस्तकालयसँगको नियमित सम्बन्धले विद्यार्थीमा अध्ययनको बानी बसाल्न र ज्ञान आर्जनको वातावरण बनाउन सहयोग गर्छ ।
वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले युवा अवस्था ज्ञान हासिल गर्ने मात्र नभई खोज, अनुसन्धान र नयाँ ज्ञान निर्माण गर्ने महत्वपूर्ण चरण रहेको बताए । अध्ययनका क्रममा प्रविधिको उपयोग बढाउनुपर्ने उनको धारणा थियो । पुस्तकालयले यस्तो अभ्यासका लागि आवश्यक आधार तयार गर्न सक्ने उनले बताए ।
पिटरका अनुसार, पुस्तकालयले युवालाई विश्वसनीय ज्ञानका स्रोतसँग जोड्छ। यसले अध्ययन, अनुसन्धान, सिर्जनशील सोच र आलोचनात्मक चेतनाको विकासमा समेत सहयोग पु¥याउँछ । डिजिटल माध्यमको प्रयोग बढिरहेको अवस्थामा पुस्तक र प्रविधि दुवैलाई जोडेर युवामैत्री अध्ययन वातावरण बनाउनुपर्ने उनले बताए ।
कार्यक्रम सहजीकरण गरिरहेकी युवा पत्रकार सन्ध्या गैरेले युवा हुनु उमेरसँग मात्र जोडिएको विषय नभई सोच, साहस, ऊर्जा र परिवर्तनको सुरुवात भएको बताइन् । युवाको ऊर्जालाई सही दिशामा परिचालन गर्न ज्ञान, चेतना र सकारात्मक सोच आवश्यक पर्ने उनको भनाइ थियो । उनले पुस्तकालयलाई ज्ञानको महत्वपूर्ण घरका रूपमा व्याख्या गरिन् ।
’पुस्तकालय किताब राख्ने ठाउँ मात्र होइन । यो सपना जन्मिने, विचार निर्माण हुने र भविष्यको बाटो तय गर्ने स्थान पनि हो,’ लुम्बिनी प्राविधिक विश्वविद्यालयमा एआइ अध्ययनरत गैरेले भनिन् ।
डिजिटल युगमा सूचना प्राप्त गर्ने माध्यमको संख्या बढे पनि पुस्तकालयको महत्व घट्न नहुने उनले बताइन् । पुस्तकालयले सूचनासँगै गहिरो ज्ञान, अध्ययन गर्ने बानी, चिन्तन गर्ने क्षमता र आफ्नै दृष्टिकोण निर्माण गर्ने अवसर दिने उनको भनाइ थियो । उज्ज्वल भविष्यका लागि युवाले किताबसँग मित्रता र पुस्तकालयसँग सम्बन्ध जोडेर ज्ञानलाई शक्तिका रूपमा प्रयोग गर्नुपर्ने छात्रा गैरेले बताइन् ।
महेन्द्र पुस्तकालयका सचिव सतीश निरौलाले युवामा पुस्तकालयप्रतिको रुचि पछिल्लो समय घट्दै गएको बताए । पुस्तकालय किताब राख्ने ठाउँ मात्र नभई अथाह ज्ञानको भण्डार भएको उल्लेख गर्दै उनले युवालाई पठन संस्कृतिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रममा युवाबीच खुला अन्तरक्रिया पनि गरिएको थियो । ‘पुस्तक पढ्नु मनोरञ्जन मात्र हो कि जीवन परिवर्तनको माध्यम पनि हो ?’ भन्ने प्रश्नमा सहभागी युवाले पुस्तकले ज्ञान बढाउनुका साथै जीवनलाई सही दिशातर्फ लैजान सहयोग गर्ने धारणा राखे ।
पठन संस्कृतिलाई प्रविधिसँग जोड्न सकिने विषयमा पनि सहभागीले आफ्ना अनुभव सुनाए । सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमको सही प्रयोगले अध्ययन सामग्रीसम्म पुग्न सहज बनाउने उनीहरूको भनाइ थियो । तर, सूचना र ज्ञानबीचको अन्तर बुझ्नुपर्नेमा पनि उनीहरूले जोड दिए ।
महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवले पुस्तकालयको सुरुआती चरणका विगत सुनाउँदै पुस्तकालयलाई सधैँ युवा तथा बालबालिकाको रुचिको केन्द्र बनाउने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताए ।
युवालाई पुस्तकालयसम्म ल्याउन विभिन्न कार्यक्रमलाई निरन्तरता दिइएको यादवले बताए । कहिले कविता तथा निबन्ध प्रतियोगिता आयोजना गर्ने र कहिले युवा दिवसजस्ता कार्यक्रम गर्ने गरिएको उनले जानकारी दिए । यस्ता गतिविधिमार्फत विभिन्न बहानामा युवालाई पुस्तकालयसँग नजिक बनाउने प्रयास भइरहेको उनको भनाइ थियो । पुस्तकालयको भौतिक अवस्था सुधारसँगै त्यसलाई युवा र बालबालिकाका लागि थप आकर्षक बनाउनेतर्फ काम गरिने उनले बताए ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, युवा अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो। युवाका जिज्ञासा, प्रश्न र अनुभवमाथि साहित्यकार तथा पुस्तकालयका प्रतिनिधिले धारणा राखेका थिए ।
कार्यक्रमको अध्यक्षता गरिरहेका पुस्तकालय युवा संवाद उपसमितिका संयोजक मणि अर्यालले आजका युवा नै भोलिका भविष्य निर्माता भएकाले उनीहरूलाई पुस्तकालयको महत्व बुझाउन आवश्यक रहेको बताए । पठन संस्कृतिको विकासका लागि युवालाई पुस्तकालयसँग जोड्नु अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।
’युवाको उत्साहजनक सहभागिताले पुस्तकालयप्रतिको आकर्षण अझै जीवित रहेको देखाएको छ,’ अर्यालले भने । युवाको सहभागितालाई आगामी दिनमा पनि निरन्तरता दिँदै पुस्तकालयका गतिविधिलाई थप प्रभावकारी बनाउने उनले बताए ।
अन्तरक्रियाले महेन्द्र पुस्तकालयलाई केवल पुस्तक पढ्ने ठाउँका रूपमा सीमित नराखी युवाको ज्ञान, सिर्जना, संवाद, खोज र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएको छ । पुस्तक र प्रविधिलाई सँगसँगै अघि बढाउँदै युवामैत्री अध्ययन वातावरण तयार गर्न सके पठन संस्कृतिलाई पुनः बलियो बनाउन सकिने सहभागीको निष्कर्ष थियो ।































