पश्चिम नेपालका क्यान्सर बिरामीलाई आफ्नै क्षेत्रमा विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरबीच सहकार्य भएको छ । दुई विशिष्टीकृत अस्पतालबीच मेडिकल अंकोलोजी सेवा विस्तार तथा संस्थागत सहकार्यसम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा हरेक महिना दुई दिन सम्बन्धित क्षेत्रमा दक्ष तथा योग्य मेडिकल अंकोलोजिस्ट उपलब्ध गराउनेछ । यससँगै पश्चिम नेपालका क्यान्सर बिरामीले विशेषज्ञ चिकित्सकबाट उपचारसम्बन्धी परामर्श र सेवा आफ्नै क्षेत्रमा लिन पाउने भएका छन् ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. नीरज भट्टराई र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले आ–आफ्नो संस्थाका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् । डा. भट्टराईले दुई अस्पतालबीच विशेषज्ञ मेडिकल अंकोलोजी सेवा तथा संस्थागत सहकार्यका लागि सम्झौता भएको जानकारी दिए ।
’यो सहकार्यबाट पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय र सहज क्यान्सर उपचार सेवा आफ्नै क्षेत्रमा उपलब्ध गराउन सकिनेछ,’ डा. भट्टराईले सहमतिबारे भने ।
सम्झौताअन्तर्गत खजुरामा आउने विशेषज्ञ चिकित्सकले ओपिडी परामर्श दिनेछन् । बिरामीको अवस्थाका आधारमा उपचार योजना बनाउनेछन् । किमोथेरापीको सुपरिवेक्षण गर्नेछन् । वार्ड राउन्डमा सहभागी हुनेछन् । जटिल अवस्थाका बिरामीको समीक्षा गर्नुका साथै आवश्यक विशेषज्ञ रायसमेत दिनेछन् ।
त्यसैगरी आवश्यकता देखिएमा हेमाटो–अंकोलोजीलगायत सम्बन्धित विशेषज्ञ सेवा सञ्चालन र समन्वयमा पनि सहकार्य गरिनेछ । यसले पश्चिम नेपालमा क्यान्सर उपचारका लागि विशेषज्ञ सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ ।
सम्झौतामा बिरामीको हित, सुरक्षा, मर्यादा र गोपनीयतालाई प्राथमिकतामा राखिएको छ । उपचारसम्बन्धी निर्णय चिकित्सकीय व्यावसायिक मापदण्ड, उपलब्ध प्रमाण, अस्पतालले स्वीकृत गरेका प्रोटोकल र बिरामीको सूचित सहमतिका आधारमा गरिने व्यवस्था गरिएको छ ।
जटिल प्रकृतिका वा थप विशिष्ट उपचार आवश्यक पर्ने बिरामीलाई चिकित्सकीय आवश्यकता र बिरामीको हितअनुसार उपयुक्त विशेषज्ञ केन्द्रमा रेफर गर्न सकिने व्यवस्था पनि सम्झौतामा समेटिएको छ । यसले बिरामीको अवस्थाअनुसार उपचारको उचित तहमा पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने अस्पतालले जनाएको छ ।
सम्झौताको प्रमाणीकरणमा दुवै अस्पतालका विशेषज्ञ तथा प्रशासनिक अधिकारी साक्षी बसेका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका तर्फबाट पेडियाट्रिक अंकोलोजी विभागका प्रमुख डा. सुवास मेहता तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तर्फबाट मेडिकल अंकोलोजी विभागका प्रमुख डा. गुरुशरण साह साक्षी बसेका छन् ।
शुक्रवारदेखि लागू भएको सम्झौता एक वर्षसम्म कायम रहनेछ । दुवै पक्षको लिखित सहमतिमा सम्झौता नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।































